मधेस प्रदेश मा सत्ता साझेदार दलहरूले वर्तमान सरकारलाई निरन्तरता दिने निर्णय गरेका छन् ।
आइतबार बसेको सत्ता साझेदार दलहरूको बैठकले मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको सरकारलाई समर्थन कायम राख्दै विश्वासको मत दिने निर्णय गरेको हो । बैठकमा नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (नेपाल), नेकपा र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का संसदीय दलका नेताहरू सहभागी थिए । निर्णयमा कांग्रेसका तर्फबाट मुख्यमन्त्री यादव, जसपा नेपालका संसदीय दलका नेता सरोजकुमार यादव, नेकपाका संसदीय दलका नेता युवराज भट्टराई र लोसपाका संसदीय दलका नेता जयनुल राइन ले हस्ताक्षर गरेका छन् ।
सत्ता साझेदार दलहरूको यस निर्णयसँगै मधेस प्रदेश सरकार तत्कालका लागि स्थिर रहने संकेत देखिएको छ । यद्यपि विपक्षी दलहरूको गतिविधि र आगामी विश्वासको मत प्रक्रियाले प्रदेशको राजनीतिक समीकरण अझ स्पष्ट पार्ने अपेक्षा गरिएको छ ।