उज्यालो नेपाल पार्टी का अध्यक्ष कुलमान घिसिङ ले सुकुमबासी समस्याको दीर्घकालीन समाधान आवश्यक रहेकोमा जोड दिएका छन् ।
चन्द्रपुर नगरपालिका–२ टेम्पुपार्कमा आइतबार आयोजित कोणसभामा उनले वर्षौंदेखि जटिल बन्दै आएको सुकुमबासी, भूमिहीन तथा अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न सरकारलाई आग्रह गरे ।
अध्यक्ष घिसिङले संविधानले सुनिश्चित गरेका शिक्षा, स्वास्थ्य, आवास र खाद्य सुरक्षाजस्ता मौलिक हक कार्यान्वयन गर्न सरकार गम्भीर हुनुपर्ने बताए । उनले ऐलानी जग्गामा बसोबास गर्दै आएका नागरिकका समस्यालाई कानुनी रूपमा समाधान गर्ने दीर्घकालीन योजना आवश्यक रहेको उल्लेख गरे । उता, चन्द्रपुर नगरपालिकाले नगर क्षेत्रभित्रका सरकारी तथा सार्वजनिक जग्गा, राजमार्ग, बजार क्षेत्र र राजकुलो अतिक्रमण गरेर बनाइएका घरटहरा ३५ दिनभित्र हटाउन सूचना जारी गरिसकेको छ ।
जिल्ला स्थित भूमि समस्या समाधान आयोगका अनुसार नगरपालिकामा दुई हजार ११९ भूमिहीन दलित परिवार, चार हजार ८६६ भूमिहीन सुकुमबासी परिवार र ११ हजार ७९५ अव्यवस्थित बसोबासी परिवार रहेका छन् ।