वीरगंज महानगरपालिकाले आइतबारका दिन सम्पूर्ण संस्थागत (निजी) विद्यालयहरूमा पठनपाठन पूर्ण रूपमा बन्द गर्न निर्देशन दिएको छ ।
संघीय सरकारको निर्णयअनुसार सरकारी कार्यालय तथा शैक्षिक संस्थाहरू हप्तामा दुई दिन (शनिबार र आइतबार) बिदा हुने व्यवस्था भए पनि वीरगंजका केही निजी विद्यालयहरूले आइतबार पनि कक्षा सञ्चालन गरिरहेको भन्दै महानगरले यस्तो निर्देशन जारी गरेको हो ।
महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले सूचना जारी गर्दै अर्को सूचना नआएसम्म आइतबारका दिन सबै निजी विद्यालय तथा मन्टेश्वरीहरूमा पठनपाठन बन्द गर्न आग्रह गरेको छ ।
महाशाखा प्रमुख आनन्द लामिछाने द्वारा जारी सूचनामा केही विद्यालयहरूले सार्वजनिक बिदाका दिनसमेत कक्षा सञ्चालन गरिरहेको पाइएकाले त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।
महानगरले विद्यालय अनुगमनलाई थप प्रभावकारी बनाइने जनाएको छ । साथै केही निजी विद्यालयहरूले विद्यालय परिसरभित्रै पाठ्यपुस्तक, विद्यालय पोशाक तथा स्टेशनरी सामग्री बिक्री वितरण गरिरहेको गुनासो प्राप्त भएको भन्दै त्यस्ता गतिविधि तत्काल रोक्न निर्देशन दिएको छ । निर्देशनको अवज्ञा भए कानुनअनुसार कडा कारबाही गरिने चेतावनीसमेत दिइएको छ ।
महानगरपालिकाले विद्यालयलाई व्यापारिक केन्द्रका रूपमा प्रयोग गर्ने प्रवृत्तिले विद्यार्थी तथा अभिभावकमाथि अनावश्यक आर्थिक भार थपिएको बताउँदै विद्यालयभित्रै किताब, ड्रेस तथा स्टेशनरी बिक्री गर्ने कार्य अस्वीकार्य रहेको स्पष्ट पारेको छ ।
त्यसैगरी, पाठ्यक्रम विकास केन्द्रले तोकेको भन्दा बढी तथा अनावश्यक पुस्तक विद्यार्थीमाथि थोपर्ने प्रवृत्तिप्रति पनि महानगरपालिका गम्भीर बनेको छ । साना बालबालिकामा अत्यधिक शैक्षिक बोझले मानसिक तथा शारीरिक विकासमा असर पर्ने भएकाले यस्तो अभ्यास तत्काल रोक्न निर्देशन दिइएको छ ।
महानगरले आवश्यकभन्दा बढी पुस्तक प्रयोग गराई अभिभावकलाई आर्थिक भार पार्ने तथा विद्यार्थीलाई तनाव दिने कार्य सह्य नहुने स्पष्ट पारेको छ । अनुगमनका क्रममा यस्ता अनियमितता भेटिएमा सम्बन्धित विद्यालय प्रशासनमाथि कानुनी कारबाही अघि बढाइने चेतावनी पनि दिइएको छ ।
सार्वजनिक बिदाका दिन विद्यालय सञ्चालन गर्ने, विद्यालयबाटै पुस्तक तथा पोशाक बिक्री गर्ने वा विद्यार्थीमाथि अनावश्यक शैक्षिक बोझ थोपर्ने कार्य दोहोरिएमा कुनै पनि अवस्थामा छुट नदिइने महानगरपालिकाले स्पष्ट गरेको छ ।