कलैया मा सोमबार गरिएको संयुक्त बजार अनुगमनका क्रममा सात वटा पसलमा छड्के अनुगमन गरिएको छ भने दुई वटा मिठाई पसललाई जरिवाना गरिएको छ ।
संयुक्त बजार अनुगमन समितिका अध्यक्ष तथा जिल्ला प्रशासन कार्यालय बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरकण भट्टराई को नेतृत्वमा खटिएको टोलीले विभिन्न पसलहरूको अनुगमन गरेको हो ।
अनुगमनका क्रममा कलैया उपमहानगरपालिका–६ बरियारपुर रोडस्थित माँ अन्नपूर्ण स्विट्स एन्ड बेकरी मा गुणस्तरहीन मो:मो, हाइड्रो तथा बिरयानी बनाउने सामग्री भेटिनुका साथै मूल्य सूची नराखिएको पाइएपछि उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३९(घ) बमोजिम ५० हजार रुपैयाँ जरिवाना गरिएको छ ।
त्यसैगरी कलैया–५ स्थित केसर स्विट्स मा म्याद गुज्रिएको आइसक्रिम र मो:मो फेला परेपछि २० हजार रुपैयाँ जरिवाना गरिएको अनुगमन टोलीले जनाएको छ ।
अनुगमनकै क्रममा कलैया–४ बरियारपुर रोडस्थित रोशन बाबु जेनेरल स्टोर मा म्याद गुज्रिएको खाने तेल फेला परेपछि उक्त तेल पसल अगाडि नै नष्ट गरिएको थियो ।
यस्तै, नेपाल डेरी उद्योग, एक मासु पसल तथा अदालत रोडस्थित सत्या होटल लाई आवश्यक कागजातसहित तीन दिनभित्र जिल्ला प्रशासन कार्यालय बारामा उपस्थित हुन निर्देशन दिइएको छ ।
त्यसैगरी दुर्गा खाजा घर मा काटा (नापतौल) सम्बन्धी अनुमति पत्र नभेटिएपछि नापतौल कार्यालय वीरगञ्ज मा तीन दिनभित्र उपस्थित हुन निर्देशन दिइएको छ ।
नवल सेकुवा मा मूल्य सूची नराखिएको पाइएपछि चेतावनी दिइएको अनुगमन टोलीले जनाएको छ ।
अनुगमन टोलीमा घरेलु तथा साना उद्योग कार्यालय बाराका प्रमुख देवेन्द्र झा, जिल्ला प्रशासन कार्यालय बाराका प्रशासकीय अधिकृत दिपेन्द्र प्रसाद यादव, प्रशासन शाखाका रत्न स्याङतान, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्जका आशुतोष कुशवाह, खाद्य प्रविधिका जित चौधरी, गुणस्तर कार्यालयका जोखन चौहान, उपभोक्ता अधिकार मञ्चका अरुण खनाल, जिल्ला प्रहरी कार्यालय बाराका प्रतिनिधि शिवशंकर साह तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।