मधेश प्रदेश सभाको सातौं बैठक जेठ १ गते शुक्रबारका लागि आह्वान गरिएको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले प्रदेश सभाको बैठक आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको थियो ।
प्रदेश प्रमुखले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम शुक्रबार बिहान ११ बजेका लागि प्रदेश सभाको बैठक आह्वान गरेको प्रदेश सभा सचिव नारायणप्रसाद दाहालले जानकारी दिएका छन् ।
मधेश प्रदेश सरकारका सत्ता साझेदार दल जनमत पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कृष्ण यादवले विश्वासको मत लिन प्रदेश सभाको बैठक बोलाउन सिफारिस गरेका हुन् ।
जनमत पार्टीका एक सांसदले सरकारलाई विश्वासको मत दिने बताएका छन् । यद्यपि, जनमत पार्टीबाट सरकारमा जाने प्रतिनिधि परिवर्तन भए सरकारलाई विश्वासको मत दिने धारणा पार्टीका नेताहरूले व्यक्त गरेका छन् ।
यसअघि आइतबार बसेको सत्तारुढ चार दल — नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) नेपाल, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तथा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का संसदीय दलका नेताहरूको बैठकले मुख्यमन्त्री कृष्ण यादव नेतृत्वको सरकारलाई निरन्तरता दिने निर्णय गरेको थियो ।
मधेश प्रदेशमा सरकारलाई निरन्तरता दिने विषयमा सत्तारुढ दलका शीर्ष नेताहरूबीच काठमाडौंमा सहमति भएको बताइएको छ । प्रदेश सभाका सभामुख रामअशिष यादवका अनुसार शुक्रबारको बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यक्रम रहेको छ ।
मुख्यमन्त्रीले विश्वासको मत लिएपछि केही दिनका लागि संसद स्थगन हुने बताइएको छ । यद्यपि, नियमित अधिवेशन आह्वान भएकाले प्रदेश सभा चालु नै रहने सभामुख यादवले बताएका छन् ।