पर्सा प्रहरीले सवारी ज्यान मुद्दामा २१ वर्षदेखि फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले घरमा लुकीछिपी बस्दै आएका आरोपितलाई नियन्त्रणमा लिएको पर्सा प्रहरी प्रमुख सुदिपराज पाठकले जानकारी दिए । पक्राउ पर्नेमा पर्सागढी नगरपालिका–५ निवासी ४७ वर्षीय दिनेश प्रसाद यादव रहेका छन् । प्रहरीका अनुसार २०६२ साल मंसिर १५ गते वीरगन्जको गण्डक चोकमा उनले चलाएको सवारी साधनले पैदल यात्रीलाई ठक्कर दिएको थियो। उक्त घटनामा घाइते भएका बारा जितपुर निवासी कालिका सिंह राजपूतको उपचारका क्रममा मृत्यु भएको थियो ।
घटनापछि फरार रहेका यादवलाई प्रहरीले लामो समयदेखि खोजी गर्दै आएको थियो । विशेष सूचनाको आधारमा हाल उनलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर सवारी ज्यान मुद्दामा थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।