जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय सचिव शैलेन्द्रप्रसाद साहले मधेश प्रदेशका भारतीय सीमावर्ती क्षेत्रमा छोटी भन्सार सञ्चालन गर्न सरकारसँग माग गर्नुभएको छ ।
मधेश प्रदेशका पूर्व अर्थमन्त्रीसमेत रहनुभएका साहले मधेश प्रदेशका आठवटै जिल्ला भारतसँग खुला सीमाबाट जोडिएको उल्लेख गर्दै सीमावर्ती क्षेत्रका नागरिकहरूको दैनिक जीवनयापनका लागि सीमापार आवतजावत सामान्य र आवश्यक विषय भएको बताउनुभयो । उहाँका अनुसार रोजगारी, उपचार, शिक्षा तथा दैनिक उपभोग्य वस्तुको किनमेलका लागि स्थानीय नागरिक नियमित रूपमा सीमापार जाने गरेका छन् । यस्तो अवस्थामा प्रत्येक प्रमुख नाकामा छोटी भन्सार सञ्चालन गर्नु समयको आवश्यकता भएको उहाँको भनाइ छ ।
मङ्गलबार आफ्नो धारणा सार्वजनिक गर्दै साहले छोटी भन्सार सञ्चालनबाट स्थानीय नागरिकलाई सहजता हुने मात्र नभई सरकारलाई राजस्व सङ्कलनमा समेत सहयोग पुग्ने उल्लेख गर्नुभयो । उहाँले व्यवस्थित भन्सार प्रणालीमार्फत अवैध कारोबार नियन्त्रण, पारदर्शिता कायम तथा स्थानीय व्यापार प्रवर्द्धनमा सकारात्मक प्रभाव पर्ने बताउनुभयो ।
“जनताको दैनिक आवश्यकतालाई ध्यानमा राख्दै हरेक नाकामा छोटी भन्सार स्थापना गर्न सरकार किन हिच्किचाइरहेको छ ? जनताको सहजता र राज्यको राजस्व दुवै सुनिश्चित हुने यस्तो व्यवस्थामा सरकारको आपत्ति किन ?” भन्दै साहले सरकारसँग प्रश्नसमेत गर्नुभएको छ । सीमावर्ती क्षेत्रका नागरिकको आवश्यकता र स्थानीय आर्थिक गतिविधिलाई ध्यानमा राख्दै सरकारले तत्काल आवश्यक पहल गर्नुपर्ने उहाँको माग छ ।