नारायण दोभान स्थित नारायणखोलामा निर्माणाधीन ट्रस्ट पुलको काम दुई वर्षपछि पुनः सुचारु भएको छ । पुल निर्माण कार्य अघि बढ्न थालेपछि स्थानीयवासीमा आशा पलाएको छ ।
चुरे क्षेत्रअन्तर्गत पर्ने लालबन्दी नगरपालिका–१३ र लालबन्दी नगरपालिका–१४ को सीमास्थित नारायणखोलामा पुल निर्माण अलपत्र परेपछि स्थानीय बासिन्दाले लामो समयदेखि सास्ती खेप्दै आएका थिए ।
नारायणखोलामा ट्रस्ट पुल निर्माणका लागि समता कन्ट्रक्सन प्रालि सँग २०७९ चैत १६ गते दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता गरिएको थियो । तर बजेट अभावका कारण निर्माण कार्य रोकिएको थियो ।
अधुरो अवस्थामा रहेको पुल निर्माणका लागि चालु आर्थिक वर्ष २०८२/८३ मा सङ्घीय सरकारबाट एक करोड ६१ लाख रुपैयाँ अनुदान प्राप्त भएको लालबन्दी नगरपालिका कार्यालय ले जनाएको छ । साथै नगरपालिकाले पनि एक करोड ६२ लाख रुपैयाँ विनियोजन गरेको छ ।
नगरपालिकाका इन्जिनियर रोशनकुमार पण्डित का अनुसार हालसम्म पुल निर्माणको करिब ४० प्रतिशत काम सम्पन्न भएको छ । सङ्घीय समानीकरण अनुदानअन्तर्गत पहिलो वर्ष एक करोड ५० लाख रुपैयाँ मात्र निकासा भएको थियो। त्यसपछि बजेट अभाव भएपछि निर्माण कार्य रोकिएको थियो ।
निर्माण कम्पनीले ट्रस्ट पुलसँगै पुलको दुवैतर्फ सय–सय मिटर पहुँच सडक निर्माण गर्ने गरी सम्झौता भएको इन्जिनियर पण्डितले जानकारी दिएका छन् । नगर कार्यपालिकाको बैठकले निर्माण कम्पनीलाई आगामी पुस मसान्तसम्मको म्याद थप गरेको छ ।
यसैबीच, लालबन्दी नगरपालिकाले वडा नम्बर १४ नारायणखोलासम्म सडक विस्तार गर्न वडा नम्बर १३ स्थित पत्थरकोट छेडा गाउँदेखि मटरदोभान नजिकसम्म ट्र्याक सडक निर्माण गरिसकेको जनाएको छ । चालु आर्थिक वर्षमै मटरदोभानसम्म सडक ट्र्याक विस्तार गर्ने लक्ष्य राखिएको वडा अध्यक्ष छेनामसिंह घिसिङ ले बताएका छन् ।
उक्त सडक निर्माणका लागि मधेश प्रदेश सरकार ले यस वर्ष ७५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । पुल निर्माण पूरा नहुँदा अहिले पनि स्थानीयले पत्थरकोटदेखि पैदल यात्रा गर्नुपर्ने बाध्यता रहेको वडाध्यक्ष घिसिङले गुनासो गरेका छन् ।