जिल्ला प्रहरी कार्यालय सप्तरी ले विभिन्न मुद्दामा फरार रहेका ६ जना प्रतिवादीलाई पक्राउ गरेको छ । प्रहरीले अभद्र व्यवहार, ज्यान मार्ने उद्योग तथा चोरीसम्बन्धी कसुरमा संलग्न प्रतिवादीहरूलाई पक्राउ गरेको जनाएको छ ।
प्रहरीका अनुसार अभद्र व्यवहार मुद्दामा सुरुङ्गा नगरपालिका–३ निवासी ३४ वर्षीय अनिल कुमार चौधरी, ३१ वर्षीय दुर्गानन्द चौधरी र २१ वर्षीय ‘डोडिया’ भनिने राजन चौधरी पक्राउ परेका छन् । उनीहरूले सोमबार राति १०ः३० बजे ड्युटीमा खटिएको प्रहरी टोलीमाथि अश्लील शब्द प्रयोग गर्दै हातपात गरेको आरोप रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बर बहादुर पुरी ले जानकारी दिएका छन् ।
पक्राउ परेका उनीहरूलाई जिल्ला प्रशासन कार्यालय सप्तरीबाट पाँच दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
त्यसैगरी ज्यान मार्ने उद्योग मुद्दामा खडक नगरपालिका–७ निवासी ३५ वर्षीय प्रकाश भनिने विजय साह पक्राउ परेका छन् । उनीमाथि वैशाख १० गते बिहान घरायसी विवादका क्रममा स्थानीय व्यक्तिमाथि बाँसको फट्टाले टाउकोमा प्रहार गरी घाइते बनाएको आरोप छ। सप्तरी जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि फरार रहेका उनलाई पक्राउ गरी छ दिन म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै चोरीसम्बन्धी कसुरमा शम्भुनाथ नगरपालिका–३ निवासी २६ वर्षीय शशित कुमार साह र २६ वर्षीय अजय साह पक्राउ परेका छन् । उनीहरूलाई वैशाख २९ गते राति शम्भुनाथ मेलामा हराएको टिभिएस मोटरसाइकल चोरी गरेको आरोपमा पक्राउ गरिएको हो ।
इलाका प्रहरी कार्यालय कल्याणपुर बाट खटिएको प्रहरी टोलीले शम्भुनाथ नगरपालिका–६ तितिराही क्षेत्रबाट मोटरसाइकलसहित उनीहरूलाई नियन्त्रणमा लिएको थियो । पक्राउ परेका दुवै जनालाई सप्तरी जिल्ला अदालतबाट छ दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।