सर्लाहीको गोडैता नगरपालिका–६ बगदहस्थित चिनी मिलनजिक जलकुम्भी घारीमा फेला परेको बेवारिसे शवको दुई दिनपछि पहिचान खुलेको छ ।
आइतबार अपराह्न हुलाकी राजमार्ग किनारमा सडेको अवस्थामा एक पुरुषको शव फेला परेको थियो । उक्त शव सर्लाहीको बलरा नगरपालिका–६ निवासी ६२ वर्षीय तेज हजारीको रहेको पुष्टि भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता तथा डिएसपी सरोज राईका अनुसार मृतकका छोरा शिवराज हजारी सम्पर्कमा आएपछि मंगलबार शवको सनाखत भएको हो ।
प्रहरीका अनुसार सडिसकेको शवलाई प्रादेशिक अस्पताल मलंगवामा पोस्टमार्टम गरी परिवारलाई जिम्मा लगाइएको छ। तेज हजारीको मृत्युको कारण भने हालसम्म खुल्न सकेको छैन । परिवारका अनुसार मानसिक अवस्था ठीक नरहेका हजारी वैशाख २१ गतेदेखि घरबाट बेपत्ता भएका थिए ।
प्रहरीले मृतकको साथबाट फेला परेको मोबाइलको आधारमा शवको पहिचान गर्न सफल भएको जनाएको छ ।