बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२३ भलुहीस्थित एभरेष्ट छाला उद्योगमा ट्रान्सफर्मर जडान गर्ने क्रममा भएको विस्फोटमा गम्भीर घाइते भएका एक मजदुरको उपचारका क्रममा मृत्यु भएको छ ।
गत वैशाख २२ गते उद्योग परिसरमा ट्रान्सफर्मर जडान गर्ने क्रममा अचानक भएको विस्फोटमा परी गम्भीर घाइते भएका पर्साको बहुदरमाई नगरपालिका–३ निवासी ४५ वर्षीय चनरदिप यादवको मङ्गलबार उपचारका क्रममा मृत्यु भएको बारा प्रहरीले जनाएको छ ।
घटनापछि मजदुरको मृत्यु भएको खबर सार्वजनिक भएसँगै स्थानीयवासी र परिवारजन आक्रोशित बनेका छन् । उनीहरूले उद्योग प्रशासनको लापरवाहीका कारण दुर्घटना भएको आरोप लगाउँदै दोषीमाथि कडा कारबाही र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिन माग गरेका छन् । मृत्युको खबरपछि उद्योग परिसर तथा आसपास क्षेत्रमा प्रदर्शनसमेत भएको थियो। स्थानीयले उद्योगमा सुरक्षा मापदण्डको बेवास्ता गरिएको आरोप लगाएका छन् ।
पीडित परिवारले किटानी जाहेरी दिएपछि प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाएको छ । इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक दिलीप क्षेत्रीका अनुसार घटनासम्बन्धी अनुसन्धानका लागि उद्योगसँग सम्बन्धित दुई जनालाई नियन्त्रणमा लिइएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ ।