सबडिभिजन वन कार्यालय, सबैया ले जारी गरेको सूचनापछि पर्सागढी नगरपालिका क्षेत्रका स्थानीय बासिन्दाहरू आक्रोशित बनेका छन् । वन कार्यालयले विभिन्न बस्तीहरू वन अतिक्रमण भएको भन्दै खाली गर्न सूचना जारी गरेपछि स्थानीयले मंगलबार नगरपालिकामा ज्ञापनपत्र बुझाएका हुन् ।
वन कार्यालयको सूचनाअनुसार पर्सागढी नगरपालिका–३ र ४ अन्तर्गत सिर्जना टोल, झापा गाउँको झबराहा क्षेत्र, सबैया गाउँको उत्तरतर्फको बस्ती तथा वीरगंज महानगरपालिका–३१ र वीरगंज महानगरपालिका–३२ अन्तर्गत मिलनचोकदेखि उत्तरतर्फका आभारी क्षेत्रलाई वन अतिक्रमण भएको भन्दै खाली गर्न निर्देशन दिइएको थियो ।
सोही सूचनापछि लामो समयदेखि बसोबास गर्दै आएका स्थानीयवासीले नगरप्रमुख गोकर्ण पाठक र वडा नं. ३ का अध्यक्ष सुकमान तामाङलाई संयुक्त रूपमा ज्ञापनपत्र बुझाएका हुन् । स्थानीयका अनुसार उनीहरू करिब २० वर्षदेखि उक्त क्षेत्रमा बसोबास गर्दै आएका छन् र त्यहीँबाट जीविकोपार्जन गर्दै आएका छन् ।
स्थानीयहरूले वन कार्यालयको सूचनाले आफ्नो दैनिक जीवनमा गम्भीर असर पर्ने भन्दै वैकल्पिक व्यवस्थापन बिना बस्ती खाली गराउने प्रक्रिया अव्यावहारिक हुने बताएका छन् । उनीहरूले दीर्घकालीन समाधानसहितको विकल्प सुनिश्चित नगरी कुनै पनि हटाउने कार्य रोक्न सरकारसँग माग गरेका छन् ।
ज्ञापनपत्र बुझ्दै नगरप्रमुख पाठकले स्थानीयको समस्या सम्बन्धित निकायमा पुर्याइने आश्वासन दिएका छन् । उनले संविधान र कानुनले नागरिकको मानव अधिकार सुनिश्चित गरेको उल्लेख गर्दै बसोबास र जीविकोपार्जनको अधिकार हनन हुन नहुने बताए ।
उनका अनुसार वैकल्पिक व्यवस्थापन सुनिश्चित गरेर मात्र बस्ती खाली गर्ने प्रक्रिया अघि बढाउनुपर्ने हुन्छ । स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारबीच समन्वय गरेर समस्या समाधानतर्फ पहल गरिने उनले बताए ।
स्थानीयवासीहरूले पनि वैकल्पिक व्यवस्थापन नभएसम्म कुनै पनि हटाउने प्रक्रिया अघि नबढाउन माग गरेका छन् ।