वीरगंजमा सञ्चालनमा रहेका खसीका मासु पसलहरूमा गरिएको बजार अनुगमनका क्रममा विभिन्न त्रुटि तथा लापरवाही फेला परेपछि केही पसल सञ्चालकलाई कारबाही गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय पर्साको अगुवाइमा पशु सेवा शाखा, खाद्य तथा गुण नियन्त्रण शाखा, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय पर्सा, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगंज, पशु क्वारेन्टाइन कार्यालय वीरगंज तथा भेटेरिनरी अस्पताल एवं पशु सेवा विज्ञ केन्द्रका प्रतिनिधि सम्मिलित टोलीले बुधबार मासु पसलहरूमा अनुगमन गरेको हो ।
बाख्राको मासुलाई खसी तथा बोकाको मासु भन्दै भ्रामक रूपमा बिक्री वितरण भइरहेको जनगुनासो आएपछि टोलीले मुर्ली, राधेमाई, श्रीराम हल छपकैया तथा रेलवे रोड क्षेत्रका मासु पसलहरूमा अनुगमन गरेको जनाएको छ ।
अनुगमनका क्रममा मुर्लीस्थित दिलसाद फ्रेस हाउसबाट अखाद्य वस्तु मिसावट गरिएको करिब १२ केजी २०० ग्राम मासु जफत गरिएको छ । त्यसैगरी राधेमाईस्थित इरफान मासु पसल दर्ता तथा स्वीकृतिविनै सञ्चालन गरिएको र मासुमा मिसावट गरी बिक्री वितरण गरेको पाइएपछि उक्त पसललाई २० हजार रुपैयाँ जरीबाना गरिएको अनुगमन टोलीले जनाएको छ ।
जफत गरिएको मासु डम्पिङ साइटमा सुरक्षित रूपमा नष्ट गरिएको छ । साथै अनुगमन टोलीले मासु पसल सञ्चालकहरूलाई मूल्य सूची अनिवार्य रूपमा राख्न, मासुको स्पष्ट पहिचान खुल्ने गरी मात्र बिक्री वितरण गर्न तथा सरसफाइमा कुनै पनि प्रकारको लापरवाही नगर्न कडा निर्देशन दिएको छ ।