बारा–पर्सा सीमावर्ती क्षेत्रको सुरक्षा तथा पीडितमैत्री सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्की ले बुधवार जिल्ला प्रहरी कार्यालय पर्सा र इलाका प्रहरी कार्यालय सिम्रौनगढमा नवनिर्मित महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र भवनको उद्घाटन गरेका छन् ।
सिम्रौनगढस्थित इलाका प्रहरी कार्यालय परिसरमा आयोजित कार्यक्रममा महानिरीक्षक कार्कीले सेवा केन्द्रले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकलाई सहज, सुरक्षित र प्रभावकारी सेवा प्रदान गर्नुपर्नेमा जोड दिए । भोजपुरी भाषाबाट आफ्नो मन्तव्य सुरु गरेका उनले ऐतिहासिक नगरी सिम्रौनगढमा उपस्थित हुन पाउँदा खुशी लागेको बताए ।
उनले भवनको भौतिक संरचना मात्र ठूलो भएर नहुने उल्लेख गर्दै त्यसको कार्यशैली पनि जनमैत्री, पारदर्शी र प्रभावकारी हुनुपर्ने बताए । प्रहरी कर्मचारीले उच्च मनोबलका साथ निष्पक्ष सेवा दिनुपर्ने र सेवाग्राहीका गुनासा तथा समस्याको प्रत्यक्ष सुनुवाइ हुनुपर्ने उनको भनाइ थियो ।
महानिरीक्षक कार्कीले निवेदकसँग अनावश्यक भीडभाड गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्नेमा जोड दिँदै पीडित महिलाले आवश्यक ठानेमा सेवा केन्द्रमै सुरक्षित बसोबासको व्यवस्था मिलाउनुपर्ने बताए । उनले सीमावर्ती क्षेत्रमा हुने भन्सार छलीका कारण राज्यको राजस्वमा नोक्सानी भइरहेको उल्लेख गर्दै कानूनी प्रक्रिया पूरा गरी सामान आयात गर्ने संस्कार विकास गर्नुपर्ने धारणा राखे ।
उनले तस्करी नियन्त्रण, लागूऔषध ओसारपसार रोकथाम तथा अशिक्षित, पीडित र शोषित समुदायलाई सहयोग गर्न प्रहरी प्रशासनलाई निर्देशनसमेत दिएका छन् । लामा कन्स्ट्रक्सन कम्पनीद्वारा निर्माण गरिएको उक्त भवन १४ सय वर्गफिट क्षेत्रफलमा फैलिएको छ । भवन निर्माणका लागि कुल तीन करोड ५१ लाख रुपैयाँ लागत अनुमान गरिएकोमा हालसम्म दुई करोड ५१ लाख रुपैयाँ खर्च भएको जानकारी कार्यक्रममा दिइएको थियो ।
कार्यक्रममा मधेश प्रदेश प्रहरी प्रमुख गोविन्द थपलिया, युएनओपिएसका अपरेशन कोअर्डिनेटर तथा पूर्व प्रहरी वरिष्ठ उपरीक्षक इन्द्र न्यौपाने, प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्र तथा इन्जिनीयर शिशिर उपाध्याय लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा उत्तम पब्लिक बोर्डिङ स्कूल का छात्राहरूले स्वागत नृत्य प्रस्तुत गरेका थिए ।
यसैबीच, जिल्ला प्रहरी कार्यालय पर्सा परिसरमा निर्माण गरिएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र भवनको उद्घाटन गर्दै महानिरीक्षक कार्कीले पर्सा मुलुककै महत्वपूर्ण आर्थिक तथा राजस्व सङ्कलन हुने सीमावर्ती जिल्ला भएकाले यहाँको सुरक्षा व्यवस्था अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।
उनले सीमावर्ती क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रणका लागि सुरक्षा निकायलाई उच्च सतर्कताका साथ काम गर्न निर्देशन दिँदै नागरिकलाई छिटो, छरितो र विश्वासिलो सेवा दिन प्रहरी सङ्गठन प्रतिबद्ध रहेको बताए ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमाथि हुने हिंसा, दुर्व्यवहार तथा सामाजिक विभेदका घटनामा संवेदनशील भएर काम गर्नुपर्ने उल्लेख गर्दै उनले नयाँ सेवा केन्द्रले पीडितमैत्री वातावरणमा न्यायिक पहुँच विस्तार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । प्रहरी र समुदायबीच विश्वास, सहकार्य तथा निरन्तर संवाद कायम भए मात्र दिगो शान्ति, सुरक्षा र सामाजिक सद्भाव सम्भव हुने उनको भनाइ थियो ।
कार्यक्रममा उपप्रमुख इम्तियाज आलम, न्यायाधीश गायत्रीप्रसाद रेग्मी, प्रमुख जिल्ला अधिकारी भोला दाहाल, प्रहरी उपरीक्षक सुदीपराज पाठक लगायत सुरक्षा निकाय, न्यायिक क्षेत्र, सञ्चारकर्मी तथा स्थानीय अगुवाहरूको सहभागिता रहेको थियो । करीब दुई करोड रुपैयाँभन्दा बढी लागतमा निर्माण गरिएको उक्त भवनले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकलाई सुरक्षित, गोपनीय तथा सहज वातावरणमा सेवा प्रदान गर्न महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ ।