सर्लाहीको सदरमुकाम मलङ्गवामा बुधबार साँझ घरको छतबाट खसेर दुई जना मजदुरको मृत्यु भएको छ ।
मलङ्गवा नगरपालिका–१० निवासी रञ्जित यादवको चारतले घरको छतमा पानीट्याङ्की राख्नका लागि ढलान प्लास्टर गर्ने क्रममा छतसहित भुइँमा खस्दा दुई मजदुरको ज्यान गएको हो ।
मृत्यु हुनेमा मलङ्गवा नगरपालिका–२ निवासी ५० वर्षीय छोटु साह र हरिपूर्वा नगरपालिका–२ निवासी ४० वर्षीय राजकिशोर यादव रहेका छन् । बुधबार साँझ करिब पौने ५ बजेतिर छतबाट खसेर गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि तत्काल प्रादेशिक अस्पताल मलङ्गवा लगिएको थियो । अस्पताल पुर्याएलगत्तै चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेको सर्लाही प्रहरीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक सरोज राईले जानकारी दिनुभयो ।
दुवै मृतकको शव परीक्षण (पोस्टमार्टम) का लागि प्रादेशिक अस्पताल मलङ्गवामा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।