धनुषाको सबैला नगरपालिका–१३ स्थित श्री माध्यमिक विद्यालय ढोलबजा किरतपुरले विद्यार्थीहरूसँग अवैधानिक रूपमा स्थानान्तरण (ट्रान्सफर) शुल्क असुल्ने गरेको आरोप लागेको छ ।
सो विषयमा प्रधानाध्यापक रामशंकर यादवमाथि कारबाहीको माग गरिएको छ । कक्षा ८ को परीक्षा उत्तीर्ण गरेका विद्यार्थीहरूसँग स्थानान्तरणको नाममा जनही पाँच सय रुपैयाँ अवैधानिक रूपमा असुल गरिएको भन्दै स्थानीयहरूले जिल्ला प्रशासन कार्यालय धनुषामा निवेदन दिएका हुन् ।
विद्यार्थीहरूले रकम लिएको कुनै रसिद नदिइएको र सो विषयमा प्रश्न गर्दा प्रधानाध्यापक यादवले धाकधम्की दिने तथा कुटपिटसमेत गर्ने गरेको आरोप लगाइएको छ । स्थानीय विद्यार्थी राहुल यादवको नेतृत्वमा प्रशासन कार्यालयमा उजुरी दर्ता गरिएको हो । निवेदन प्राप्त भएपछि जिल्ला प्रशासन कार्यालय धनुषाले घटनाबारे छानबिन गरी आवश्यक कारबाही अघि बढाउन सबैला नगरपालिकालाई पत्राचार गरेको छ । विद्यार्थीहरूका अनुसार रसिद माग गर्दा पनि बल प्रयोग गरी हप्काउने र डरत्रास देखाउने गरिएको छ ।
प्रशासनले अवैध शुल्क असुली तत्काल रोक्न र दोषीमाथि कानुनी कारबाही गर्न निर्देशन दिएको छ ।