जिल्ला प्रहरी कार्यालय पर्साले राजस्व चुहावट मुद्दामा करोडौँ रुपैयाँ जरिवाना र कैद सजाय तोकिएका एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पर्सा जिल्लाको साविक बेल्वा गाविस–५ (हाल वीरगंज महानगरपालिका–३१) बस्ने ४२ वर्षीय प्रबिन्द्र साह गोढ रहेका छन् । उनलाई विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले लुकिछिपी बसिरहेको अवस्थामा नियन्त्रणमा लिएको हो ।
पर्सा जिल्ला अदालतको फैसलाअनुसार उनलाई राजस्व चुहावट मुद्दामा ६ महिना कैद र ३ करोड १२ लाख ६० हजार ८० रुपैयाँ जरिवाना तोकिएको थियो ।
लामो समयदेखि फरार रहेका गोढलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि पर्सा जिल्ला अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले जानकारी दिनुभयो छ ।