पाँच दशकदेखि व्यक्तिले कब्जा जमाउँदै आएको कोष तथा लेखा नियन्त्रक कार्यालय (कालेनिका) सप्तरीको अतिक्रमित जग्गा खाली गराउन राजविराज नगरपालिकाले सार्वजनिक सूचना जारी गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिनपछि पाँच महिनाअघि नै उक्त अतिक्रमित २ कठ्ठा १४ धुर सरकारी जग्गा संरक्षण गर्न सम्बन्धित निकायलाई पत्राचार गरेको थियो । सोही आधारमा २२ मंसिर २०८२ मा प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलको संयोजकत्वमा बसेको बैठकले सरकारी जग्गा अतिक्रमण हटाउने निर्णय गरेको थियो। त्यसपछि कोलेनिकाले नगरपालिकालाई आवश्यक कारबाहीका लागि ताकेता गर्दै आएको थियो ।
नगरपालिकाको गत सोमबार बसेको कार्यपालिका बैठकको निर्णयअनुसार अतिक्रमण हटाउन ७ दिने सार्वजनिक सूचना जारी गरिएको हो । सूचनामा जगदीश झाका छोरा उज्जवल झासहितका व्यक्तिहरुले जग्गा अतिक्रमण गरी बसिरहेको उल्लेख छ। कोलेनिकाबाट २८ वैशाखमा च. नं. ४२० को पत्रमार्फत ताकेता आएपछि कार्यपालिकाले सर्वसम्मत निर्णय गरेको सूचनामा जनाइएको छ ।
निर्धारित समयभित्र जग्गा खाली नगरे नगरपालिकाले बलपूर्वक खाली गराउँदा हुने क्षतिको जिम्मेवारी सम्बन्धित व्यक्तिको हुने पनि सूचनामा उल्लेख गरिएको छ ।
जग्गाधनी स्रेस्ताअनुसार राजविराज नगरपालिका साविक–७ (हाल वडा नं. ६) को कित्ता नम्बर ९० मा ६ कठ्ठा ६ धुर जग्गा कालेनिकाको नाममा रहेको छ। तर, सोही जग्गामध्ये दक्षिणतर्फको २ कठ्ठा १४ धुर जग्गामा झा परिवारले कब्जा जमाई पक्की घरटहरा निर्माण गरी सटर भाडामा लगाउँदै आएको पाइएको छ ।