बारा जिल्लाको कोल्हवी क्षेत्रमा उपभोक्ता अधिकार संरक्षण तथा बजार व्यवस्थापनलाई प्रभावकारी बनाउन गरिएको संयुक्त बजार अनुगमनमा मापदण्ड उल्लङ्घन गर्ने विभिन्न व्यवसायिक प्रतिष्ठानलाई जरिवाना गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय बाराको नेतृत्वमा गरिएको अनुगमनमा घरेलु तथा साना उद्योग कार्यालय, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्सा, गुणस्तर तथा नापतौल कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, इलाका प्रहरी कार्यालय कोल्हवी तथा उपभोक्ता हित संरक्षण मञ्च बारा लगायतका निकायहरूको सहभागिता रहेको थियो ।
अनुगमनका क्रममा उपभोक्ता संरक्षण ऐन, २०७५ विपरीत गतिविधि गरेको पाइएपछि विभिन्न व्यवसायीलाई कारबाही गरिएको हो । यस क्रममा सबैभन्दा बढी कैफियत भेटिएको महागढीमाई नगरपालिका–१, बरियारपुरस्थित मुस्कान डेरी उद्योगलाई ७५ हजार रुपैयाँ जरिवाना गरिएको छ ।
त्यसैगरी, कोल्हवी नगरपालिका–१ स्थित न्यू जैसवाल मिठाई भण्डार र वडा नं. ३ स्थित बैष्णव होटललाई जनही ५ हजार ५ सय रुपैयाँ जरिवाना गरिएको छ । साथै वडा नं. २ स्थित हाम्रो फ्रेश चाउमिन उद्योगलाई २० हजार रुपैयाँ जरिवाना गरिएको अनुगमन समितिले जनाएको छ ।
समितिका अनुसार केही व्यवसायलाई आवश्यक सुधारका लागि निर्देशन दिइएको छ भने मूल्य सूची प्रदर्शन, सरसफाइ, गुणस्तर मापदण्ड तथा उपभोक्ता अधिकारसम्बन्धी नियम पालना गर्न सचेत गराइएको छ ।
जिल्ला प्रशासन कार्यालय बाराको नेतृत्वमा रहेको टोलीले बजार अनुगमनलाई अझ प्रभावकारी र कडाइका साथ निरन्तरता दिने जनाएको छ ।