सर्लाहीको हरिवनमा गएराति भएको सवारी दुर्घटनामा एक पैदल यात्रुको घटनास्थलमै मृत्यु भएको छ ।
पूर्व–पश्चिम लोकमार्गअन्तर्गत हरिवन नगरपालिका–११ स्थित कडरिया चोकमा दुर्घटना भएको हो ।
इलाका प्रहरी कार्यालय हरिवनका अनुसार गाईघाटबाट काठमाडौँतर्फ जाँदै गरेको बाप्र०१–००६ ख ९६७० नम्बरको बसले पैदल यात्रुलाई ठक्कर दिँदा घटनास्थलमै उनको मृत्यु भएको हो । मृतक अन्दाजी ३५ देखि ४० वर्ष उमेर समूहका पुरुष रहेको र उनी मागी खाई हिँड्ने व्यक्ति जस्तो देखिएको भए पनि उनको नाम, थर र ठेगाना खुल्न नसकेको प्रहरीले जनाएको छ ।
दुर्घटनाको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक चन्द्रकान्त अधिकारीको कमाण्डमा १० जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो । प्रहरीले घटनास्थल मुचुल्का लगायतका कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाएको छ ।
दुर्घटना गराउने बस र बस चालक उदयपुर त्रियुगा नगरपालिका–१० बासबारी बस्ने ३५ वर्षीय कृष्णबहादुर खत्रीलाई इलाका प्रहरी कार्यालय कर्मैया, सर्लाहीको नियन्त्रणमा राखिएको छ ।
दुर्घटनास्थल इलाका प्रहरी कार्यालय हरिवनबाट करिब ८०० मिटर उत्तर–पूर्वमा पर्छ । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।