नदीजन्य पदार्थ ओभरलोड गरी ढुवानी गर्ने तीनवटा टिपरलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय, निजगढले कारबाही गरेको छ ।
प्रहरीका अनुसार सर्लाहीको बागमती क्षेत्रबाट क्षमताभन्दा बढी बालुवा बोकेर आएका टिपरहरूलाई नियन्त्रणमा लिएर अतिरिक्त बालुवा झार्न लगाइएको हो । साथै निजगढ क्षेत्रमा पानी मिसिएको बालुवा बोकेर हिँडेका टिपरबाट पानीसमेत झारेर कारबाही गरिएको प्रहरीले जनाएको छ ।
कारबाहीमा पर्ने टिपरहरूमा प्रदेश २–०३–००१ ख ३८६९, ना.७ ख १३४१ र ना.५ ख ६३९९ नम्बरका सवारीसाधन रहेका छन् । ती टिपरबाट ओभरलोड गरिएको बालुवा झारेर नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय, निजगढका प्रमुख प्रहरी निरीक्षक दीपक केसीका अनुसार राजमार्गमा ओभरलोड गरी बालुवा, गिट्टी, रोडा तथा ग्राभेल ढुवानी गर्दा पछाडि गुड्ने मोटरसाइकल र स्कुटी चालक जोखिममा पर्ने गरेका छन् । टिपरबाट खस्ने सामग्री आँखामा पर्दा दुर्घटना हुने तथा जनधनको क्षति हुने गुनासो बढेपछि चेकजाँचलाई कडाइ गरिएको उनले बताए ।
प्रहरी निरीक्षक केसीले पटक–पटक सम्झाउँदा पनि अटेर गरी ओभरलोड गर्ने टिपर तथा अन्य सवारीसाधनमाथि कडा कारबाही भइरहेको जानकारी दिए ।
पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत बागमती, चन्द्रनिगाहपुर, निजगढ, पथलैया तथा बरियारपुर–कलैया सडकखण्ड र त्रिभुवन राजपथको पथलैया–वीरगंज सडकखण्डमा क्षमताभन्दा बढी नदीजन्य पदार्थ ढुवानी भइरहेको पाइएपछि विशेष निगरानी बढाइएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार केही दिन नियन्त्रणमा आएको ओभरलोड ढुवानी पुनः बढ्न थालेपछि निगरानी थप कडा बनाइएको हो । पहिलोपटक भेटिएका टिपरलाई सम्झाइबुझाइ गरी फर्काइने गरिएको भए पनि अटेर गर्ने सवारीसाधनबाट ओभरलोड सामग्री झार्ने कार्यलाई निरन्तरता दिइएको छ ।
प्रहरीका अनुसार १० चक्के टिपरले कानुनी रूपमा ४२५ घनफिट अर्थात् १२ घनमिटरभन्दा बढी नदीजन्य पदार्थ बोक्न पाउँदैनन् । तर केही टिपरहरूले ढालामाथि चुली बनाएर त्रिपालले छोप्दै १६ देखि २० घनमिटरसम्म बालुवा, गिट्टी, रोडा तथा ग्राभेल ओसारपसार गर्ने गरेको पाइएको छ ।