डिभिजन वन कार्यालय बाराले शुक्रबार बिहान त्रिभुवन राजमार्ग अन्तर्गत ३ नम्बर पुल नजिक रहेको बस्ती डोजर लगाएर खाली गराएको छ । पर्सा राष्ट्रिय निकुञ्ज र डिभिजन सडक कार्यालय हेटौंडाको टोलीको सहयोगमा वन तथा निकुञ्ज क्षेत्रभित्र रहेका घरटहरा हटाइएको हो ।
डिभिजन वन कार्यालय बाराका प्रमुख सुजित कुमार झाले वन क्षेत्र तथा निकुञ्जको जग्गामा अवैध रूपमा बस्ती विस्तार भएकाले हटाउनुपरेको बताए। उनका अनुसार पटक–पटक माइकिङ तथा लिखित सूचना जारी गर्दा समेत स्थानीयले अटेर गरेपछि डोजर चलाइएको हो ।
यसअघि दुई साताअघि सडक विभागले सूचना जारी गरेपछि त्रिभुवन राजपथको दुवैतर्फ २५–२५ मिटर क्षेत्र स्थानीय व्यवसायीहरूले आफैं खाली गरेका थिए । सडक सीमाभन्दा बाहिर व्यवसाय सञ्चालन गरिरहेका अवस्थामा पनि डोजर चलाइएको भन्दै व्यवसायीहरूले राज्यले दमन गरेको आरोप लगाएका छन् ।
स्थानीय अगुवा अनिल पाख्रिनले २०४५ सालदेखि व्यवसाय गर्दै आएका स्थानीयलाई समय नदिई हटाइएको गुनासो गरे । उनले सडक क्षेत्रभित्रका संरचना आफैं हटाइसकेपछि पनि बाँकी व्यवसाय हटाइनु अन्यायपूर्ण भएको बताए ।
हेटौंडा–पथलैया सडकखण्ड अन्तर्गत पर्ने ३ नम्बर पुल क्षेत्र यात्रुहरूको विश्रामस्थलका रूपमा परिचित मानिन्छ । उक्त क्षेत्रमा ७० भन्दा बढी होटल तथा साना व्यवसाय सञ्चालनमा रहेका थिए । बस्ती हटाइएपछि स्थानीयको जीविकोपार्जन प्रभावित हुने चिन्ता बढेको छ ।
स्थानीय व्यवसायी मिनाकुमारी रुम्बाले पसलबाट हुने आम्दानीकै भरमा १२ लाख रुपैयाँ ऋण लिएर नयाँ घर निर्माण गरेको बताइन् । उनले सडक क्षेत्र छोडेर बनाएको घरसमेत भत्काइएपछि आफ्नो सबै लगानी डुबेको दुखेसो पोखिन् ।
उद्योग वाणिज्य संघ जीतपुरसिमराका अध्यक्ष मोहन शर्माले व्यवसायीलाई पर्याप्त समय नदिई डोजर चलाइनु राज्यको बर्बर दमन भएको टिप्पणी गरे । उनले यस घटनाले स्थानीय व्यवसायी तथा सर्वसाधारणको मानवअधिकारमाथि समेत असर पुगेको बताए ।
डिभिजन वन कार्यालयले भने वन तथा निकुञ्ज क्षेत्र अतिक्रमणमुक्त बनाउने अभियानअन्तर्गत कानुनी प्रक्रिया पूरा गरेर बस्ती हटाइएको जनाएको छ ।