वीरगंजमा सञ्चालनमा रहेका खसी–बाख्राको मासु पसलहरूमा अनुगमनलाई थप प्रभावकारी बनाइने भएको छ ।
बिहीबार जिल्ला प्रशासन कार्यालय पर्सामा प्रमुख जिल्ला अधिकारी भोला दाहालको अध्यक्षतामा बसेको सरोकारवाला निकायहरूको बैठकले बजार अनुगमनलाई नियमित, प्रभावकारी र परिणाममुखी बनाउने निर्णय गरेको हो । यसअघि बुधबार खटिएको बजार अनुगमन टोलीले वीरगंजका केही मासु पसलमा छड्के अनुगमन गर्दै अनियमितता फेला पारेको थियो । सो क्रममा एक मासु पसलेलाई २० हजार रुपैयाँ जरिवाना गरिएको तथा १२ केजी अखाद्य खसीको मासु जफत गरी नष्ट गरिएको थियो ।
बैठकले अखाद्य तथा गुणस्तरहीन मासु बिक्री–वितरणमा कडाइ गर्ने, उपभोक्ता स्वास्थ्यप्रति संवेदनशील रहँदै कानुन विपरीत कार्य गर्ने व्यवसायीमाथि आवश्यक कारबाही अघि बढाउने निर्णय गरेको छ । त्यस्तै, शुक्रबार अपरान्ह ३ बजे पुनः बैठक बसी जिल्लास्तरीय मासु दर निर्धारण गर्ने निर्णयसमेत गरिएको प्रमुख जिल्ला अधिकारी दाहालले जानकारी दिएका छन् ।
नागरिकलाई स्वच्छ, सफा र गुणस्तरीय मासु उपभोग गर्न पाउने अधिकार सुनिश्चित गर्ने उद्देश्यले गरिएको बैठकमा जिल्ला प्रहरी कार्यालय पर्सा, वीरगञ्ज महानगरपालिकाको पशु सेवा शाखा, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय पर्सा, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, पशु क्वारेन्टाइन कार्यालय, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, मासु व्यवसायी संघ, पत्रकार तथा उपभोक्ता प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।