मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज प्रदेश सभाबाट विश्वासको मत लिँदैछन्। यसका लागि बिहान ११ बजे प्रदेश सभा बैठक बोलाइएको छ ।
सरकारमा सहभागी रहेको जनमत पार्टीले गत वैशाख २२ गते समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री यादव विश्वासको मत लिन बाध्य भएका हुन् । मन्त्रिपरिषद्को वैशाख २८ गते बसेको बैठकले जेठ १ गते विश्वासको मत लिने निर्णय गरेको थियो। संविधानअनुसार सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने प्रावधान रहेको छ ।
हाल मधेस प्रदेश सभामा १०२ जना सदस्य रहेका छन् । सरकार जोगाउन ५२ सांसदको समर्थन आवश्यक पर्ने भए पनि हाल सरकार पक्षमा स्पष्ट बहुमत रहेको दाबी गरिएको छ ।
नेपाली कांग्रेसका २२, जसपा नेपालका २६ तथा नेपाल कम्युनिस्ट पार्टीका १५ सांसदसहित सरकारसँग ६३ जना प्रदेश सभा सदस्यको समर्थन रहेको बताइएको छ ।
यता जनमत पार्टीले भने मुख्यमन्त्री यादव नेतृत्वको सरकारविरुद्ध मतदान गर्ने निर्णय गरेको छ । जनमत पार्टीको मधेस प्रदेश संसदीय दलले आजको विश्वासको मत प्रक्रियामा विपक्षमा उभिने जनाएको छ ।