रौतहट जिल्लामा एचआइभी/एड्स सङ्क्रमितको सङ्ख्या उच्च रहेको पाइएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय रौतहटका अनुसार हाल जिल्लामा चार सय २५ जनामा एचआइभी सङ्क्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय रौतहटका प्रमुख राजेश सिंहका अनुसार सङ्क्रमित सबै व्यक्तिले नियमित रूपमा एन्टिरेट्रोभाइरल थेरापी (एआरटी) सेवा लिइरहेका छन् । उनका अनुसार पछिल्लो समय वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिभन्दा जिल्लामै कार्यरत चालक, प्रहरी तथा मजदुरमा संक्रमण बढी देखिएको छ ।
जिल्ला स्वास्थ्य कार्यालयका एआरटी अधिकारी राजकुमार साहका अनुसार जिल्लाका १८ स्थानीय तहमध्ये सबैभन्दा बढी सङ्क्रमित राजपुर नगरपालिकामा भेटिएका छन् । मुस्लिम समुदायको बाहुल्य रहेको उक्त पालिकामा ६३ जना सङ्क्रमित रहेका छन् ।
तथ्याङ्कअनुसार चन्द्रपुर नगरपालिकामा ३७, गौर र इशनाथ नगरपालिकामा ३५/३५, राजदेवी नगरपालिकामा २५ तथा गुजरा, कटहरिया, देवाही गोनाही, बौधीमाई र दुर्गा भगवती नगरपालिकामा २०/२० जना सङ्क्रमित रहेका छन् । जिल्लाका सबै स्थानीय तहमा एचआइभी संक्रमित भेटिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
प्रादेशिक अस्पताल गौरका डाक्टर शशी गुप्ताका अनुसार असुरक्षित यौन सम्पर्क, संक्रमित रगतको प्रयोग, संक्रमित सुई तथा सिरिन्जको प्रयोग र संक्रमित आमाबाट शिशुमा संक्रमण सर्न सक्छ । उनले नियमित परीक्षण, समयमै उपचार, सुरक्षित यौन व्यवहार तथा कण्डमको प्रयोगबाट संक्रमण नियन्त्रण गर्न सकिने बताएका छन् ।
चन्द्रपुर अस्पतालका डाक्टर सुभाष चौधरीका अनुसार जिल्लामा कण्डम प्रयोग गर्नेको सङ्ख्या बढे पनि यसको सही प्रयोगबारे पर्याप्त जनचेतनाको अभाव रहेको छ । यही कारण संक्रमण नियन्त्रणमा चुनौती कायम रहेको उनले बताए ।
स्वास्थ्यकर्मीहरूले सुरक्षित यौन व्यवहार अपनाउन, नियमित परीक्षण गर्न र एआरटी सेवा लिन आग्रह गरेका छन् ।