वीरगंजमा बजार अनुगमनलाई तीव्र बनाउँदै जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा खटिएको संयुक्त टोलीले अस्पताल परिसरभित्र सञ्चालित क्यान्टिन तथा होटलहरूमा अनुगमन गरी जरिवाना गरेको छ ।
शुक्रबार गरिएको अनुगमनका क्रममा वीरगंज महानगरपालिका–१३ स्थित तराई हस्पिटल परिसरभित्र सञ्चालित क्यान्टिनलाई ५० हजार रुपैयाँ जरिवाना गरिएको छ । अनुगमन टोलीका अनुसार उक्त क्यान्टिन दर्ताबिनै सञ्चालन भइरहेको, सरसफाइको अवस्था अत्यन्त कमजोर रहेको तथा कामदारहरूले आधारभूत स्वच्छता मापदण्डसमेत पालना नगरेको पाइएपछि उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार कारबाही गरिएको हो ।
अनुगमन टोलीका संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण थापाले कानुनअनुसार व्यवसाय दर्ता, स्वच्छता र गुणस्तरीय सेवा अनिवार्य भएको भन्दै नियम उल्लङ्घन गर्नेलाई कडा कारबाही निरन्तर रहने चेतावनी दिए ।
त्यसैगरी सोही क्षेत्रभित्र सञ्चालित अन्य होटलहरूमा पनि अनुगमन गरिएको छ । ज्योति मगर होटललाई २० हजार रुपैयाँ तथा उर्मिला महतोद्वारा सञ्चालित होटललाई ५ हजार रुपैयाँ जरिवाना गरिएको अनुगमन टोलीले जनाएको छ । बुद्ध होटललाई भने आवश्यक कागजातसहित जिल्ला प्रशासन कार्यालय पर्सामा उपस्थित हुन निर्देशन दिइएको छ ।
अनुगमनका क्रममा सरसफाइ अभाव, खाद्य सामग्रीको गुणस्तरमा कमजोरी, व्यवसाय दर्ता प्रक्रिया अपूर्ण रहेको तथा उपभोक्तामैत्री सेवा नदेखिएको जस्ता समस्या भेटिएको बताइएको छ ।
अनुगमन टोलीमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगन्ज, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय वीरगंज, उपभोक्ता हित संरक्षण मञ्च नेपाल पर्सा, वीरगंज उद्योग वाणिज्य संघ तथा जिल्ला प्रहरी कार्यालय पर्साका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।