कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले विदेशबाट अर्बौँ रुपैयाँको रासायनिक मल खरिद गर्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताउनुभएको छ ।
शुक्रबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति बैठकमा बोल्दै मन्त्री चौधरीले नेपालमै मल उत्पादन गर्ने कारखाना स्थापना वा वैकल्पिक व्यवस्था विकास गरेर आयातमा निर्भरता घटाउनुपर्नेमा जोड दिनुभयो ।
उहाँका अनुसार हाल रासायनिक मलको आयातमा मात्रै मन्त्रालयको करिब ५० प्रतिशत बजेट खर्च हुने गरेको छ, जसलाई घटाउन सके कृषि क्षेत्रको समग्र विकासमा ठूलो योगदान पुग्नेछ ।
नेपालमै पर्याप्त मल उत्पादन गर्न सके आयातमा खर्च हुने अर्बौँ रकम कृषि आधुनिकीकरण, सिँचाइ र प्रविधि विस्तारमा प्रयोग गर्न सकिने उहाँको भनाइ थियो ।
मन्त्री चौधरीले कृषि पेशालाई मर्यादित र आकर्षक बनाउन मन्त्रालयले नीतिगत सुधारका कार्यक्रम अघि बढाइरहेको जानकारी पनि दिनुभयो । उहाँले कृषिलाई प्रविधिमैत्री बनाउने, किसानको उत्पादनलाई बजारसँग जोड्ने र दीगो कृषि प्रणाली विकास गर्ने विषयमा सरकार गम्भीर रहेको स्पष्ट पार्नुभयो ।
बैठकमा समिति सदस्यहरूले कृषि उत्पादनको बजारीकरणका क्रममा किसानहरू बिचौलियाका कारण मारमा पर्ने गरेको भन्दै त्यसको नियन्त्रण गर्न सरकारलाई आग्रह गरेका थिए । साथै, रासायनिक मलको प्रयोग घटाउँदै प्राङ्गारिक मलको प्रयोगलाई बढावा दिनुपर्ने सुझावसमेत उनीहरूले दिएका थिए ।
सरकारले कृषि क्षेत्रलाई आत्मनिर्भर बनाउनेतर्फ ठोस योजना ल्याउनुपर्नेमा समिति सदस्यहरूको जोड थियो ।