सर्लाहीको हरिपुर नगरपालिका–५ मजुर्वास्थित कृष्ण इँटा उद्योगमा इँटाको चाङ खस्दा तीन जना मजदुरको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार शुक्रबार साँझ करिब ६ बजे इँटा निकाल्ने क्रममा अचानक चाङ भत्किँदा मजदुरहरू पुरिएका थिए । घटनापछि स्थानीयवासी र प्रहरीको सहयोगमा उद्धार कार्य गरिएको थियो। मृत्यु हुनेहरूमा सर्लाहीको गौडेता नगरपालिका–७ रामवन निवासी ५० वर्षीय फिताई मन्सुर, गौडेता नगरपालिका–९ निवासी ३५ वर्षीय शम्भु राउत तथा भारतको लखिमपुर निवासी ३५ वर्षीय अंगद कुमार रहेका छन् ।
प्रहरीका अनुसार घाइते अवस्थामा उद्धार गरी प्रादेशिक अस्पताल मलंगवा पुर्याइएका उनीहरूलाई चिकित्सकले क्रमशः साँझ ६ः४७, ६ः५६ र ७ः१५ बजे मृत घोषणा गरेका थिए ।
घटनामा मलंगवा नगरपालिका–७ निवासी ३२ वर्षीय तुलसी महतो र ५२ वर्षीय सत्य नारायण महतो घाइते भएका छन्। तुलसी महतोको प्रादेशिक अस्पताल मलंगवामा उपचार भइरहेको छ भने सत्य नारायण महतोको स्थानीय मजुर्वा क्लिनिकमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुवैको अवस्था सामान्य रहेको बताइएको छ ।
घटनाको जानकारी स्थानीयवासीमार्फत साँझ करिब ६ः३० बजे प्राप्त भएपछि इलाका प्रहरी कार्यालय हरिपुरबाट प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रहरी टोलीले तत्काल उद्धार कार्य सञ्चालन गरी घाइतेहरूलाई उपचारका लागि अस्पताल पठाएको थियो ।
प्रहरीका अनुसार घटनास्थल इलाका प्रहरी कार्यालय हरिपुरबाट करिब पाँच किलोमिटर दक्षिण–पूर्वमा पर्छ । हाल घटनास्थलमा जेसीबी प्रयोग गरेर इँटा तथा माटो हटाउने कार्य जारी रहेको छ ।
इँटा उद्योगका सञ्चालक कौडेना बजार निवासी वीरेन्द्र चौधरी रहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ ।