मधेश प्रदेशका महोत्तरीसहित प्राचीन मिथिला क्षेत्रमा शनिबार विवाहित मिथिलानी महिलाले श्रद्धा र उत्साहका साथ ‘बर्साइत’ पर्व मनाइरहेका छन् ।
जेठ औँसीका दिन अटल सौभाग्य तथा पति दीर्घायुको कामना गर्दै मनाइने यो पर्वलाई ‘वटसावित्री’ पर्वका नामले पनि चिनिन्छ । परम्पराअनुसार विवाहित महिलाहरू बिहानैदेखि निराहार व्रत बसेर गाउँ–बस्ती नजिक रहेका वटवृक्ष (वरको रुख) मुनि भेला भई सामूहिक रूपमा पूजा आराधना गर्छन् । नयाँ लुगा र श्रृंगारमा सजिएका मिथिलानी महिलाले सती सावित्रीको आदर्श जीवनसँग सम्बन्धित गीत गाउने, कथा सुन्ने तथा एकअर्कासँग शुभकामना साटासाट गर्ने गर्छन् ।
पौराणिक मान्यताअनुसार सत्ययुगमा सती सावित्रीले आफ्नो तपस्या र अटल निष्ठाबाट पति सत्यवानको प्राण फिर्ता ल्याई अटल सौभाग्यको वरदान प्राप्त गरेकी थिइन् । सोही विश्वासका आधारमा मिथिला क्षेत्रमा विवाहित महिलाले यो पर्व मनाउँदै आएका छन् ।
जेठ कृष्ण चतुर्दशीका दिनदेखि नै व्रत सङ्कल्प सुरु हुने र औँसीका दिन पूर्ण निराहार बसेर वटवृक्षमुनि ब्रह्मा, विष्णु, महेशसहित इष्टदेवको पूजा गर्ने परम्परा रहेको छ । सामान्यतया जेठ शुक्ल प्रतिपदाको सूर्योदयसँगै व्रत सम्पन्न गरिने भए पनि यस वर्ष अधिकमास सुरु हुने भएकाले सूर्योदयअघि नै व्रत समापन गरिने मैथिल कर्मकाण्डका ज्ञाता पण्डित महेशकुमार झाले जानकारी दिनुभयो ।
मिथिला क्षेत्रमा यो पर्व धार्मिक आस्थासँगै सामाजिक तथा सांस्कृतिक मेलमिलापको अवसरका रूपमा पनि लिइन्छ। महिलाहरू समूहमा नाचगान गर्दै, हाँसीमजाक र घरपरिवारका सुख–दुःख साटासाट गर्दै पर्व मनाउने परम्परा रहेको छ ।
बर्दिबास–९ पशुपतिनगरकी दुलारी ठाकुरका अनुसार बर्साइत पर्वले पुरानो संस्कृति संरक्षण गर्नुका साथै महिलाबीच आत्मीयता र सामाजिक सम्बन्ध बलियो बनाउने काम गर्दछ ।
पहिले ब्राह्मण, कायस्थ र सोनार समुदायमा सीमित रहेको यो पर्व अहिले मिथिला क्षेत्रका प्रायः सबै जातजातिले मनाउन थालेका छन् । विभिन्न समुदायबीच सांस्कृतिक आदान–प्रदान बढ्दै जाँदा पर्वको दायरा फराकिलो बनेको याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठ मटिहानीका प्राचार्य हेमनारायण लाल कर्णले बताउनुभयो ।
उहाँका अनुसार बर्साइत पर्वले मिथिलाको धार्मिक परम्परा, सांस्कृतिक एकता र सामाजिक सद्भावलाई थप मजबुत बनाउने सन्देश दिएको छ