बजारमा उपभोक्ता ठगी नियन्त्रण तथा मूल्य सूची दुरुस्त राख्ने उद्देश्यले सञ्चालन गरिएको मूल्य पारदर्शिता सप्ताहअन्तर्गत वीरगंजका विभिन्न होटल तथा क्यान्टिनहरूमा अनुगमन गरिएको छ ।
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगंजका निमित्त प्रमुख आशुतोष कुशवाहाका अनुसार उपभोक्ता संरक्षण ऐन, २०७५ तथा नियमावली, २०७६ विपरीत व्यवसाय सञ्चालन गरेको पाइएपछि संयुक्त अनुगमन टोलीले तीनवटा होटललाई स्थलगत कारबाही गरेको हो ।
अनुगमनका क्रममा वीरगंज–११ स्थित तराई क्यान्टिनलाई ऐनको दफा १५ विपरीत कार्य गरेको तथा दफा ३८ (ट) बमोजिम कसुर गरेको ठहर गर्दै दफा ३९ (१) (घ) अनुसार रु ५० हजार जरिवाना गरिएको छ ।
त्यसैगरी वीरगंज–१३ मा सञ्चालित ज्योति मगर होटललाई ऐनको दफा १५ विपरीत कार्य र दफा ३८ (घ) बमोजिमको कसुरमा दफा ३९ (१) (क) अनुसार रु २० हजार जरिवाना गरिएको छ । सोही वडाको चौधरी होटललाई पनि समान कसुरमा रु ५ हजार जरिवाना गरिएको छ ।
अनुगमनका क्रममा वीरगञ्ज–१३ कै अनु देवीको व्यवसायमा केही प्राविधिक त्रुटिहरू फेला परे पनि गम्भीर गल्ती नदेखिएकाले सुधारका लागि सामान्य निर्देशन दिइएको छ ।
जिल्ला अनुगमन समितिले उपभोक्ता हित संरक्षण तथा बजारलाई व्यवस्थित बनाउन आगामी दिनमा पनि यस्ता आकस्मिक अनुगमन तथा निरीक्षणलाई निरन्तरता दिने जनाएको छ ।