मिथिला नगरपालिका क्षेत्रभित्रका सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन र निःशुल्क सवारी सुविधाको विस्तार भएपछि विद्यार्थीको आकर्षण उल्लेख्य रूपमा बढ्न थालेको छ ।
सामुदायिक विद्यालयमै गुणस्तरीय शिक्षा दिने उद्देश्यका साथ यहाँका अधिकांश विद्यालयले अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गरेपछि भर्ना हुने विद्यार्थीको संख्या वृद्धि भएको विद्यालय प्रशासनहरूले जनाएका छन् । ढल्केबरस्थित महेन्द्र माध्यमिक विद्यालयले चालु शैक्षिक सत्रदेखि शिशु कक्षादेखि कक्षा ६ सम्म अंग्रेजी माध्यमबाट पढाइ सुरु गरेको छ । विद्यालयले विद्यार्थीलाई ल्याउने–लैजाने निःशुल्क सवारी सेवा सञ्चालन गरेपछि भर्ना संख्या उल्लेख्य रूपमा बढेको प्रधानाध्यापक रामकुमार महतोले जानकारी दिए ।
उनका अनुसार नियमित नेपाली माध्यमसँगै अंग्रेजी माध्यम सुरु भएपछि अभिभावकको विश्वास बढेको छ । तर कक्षा कोठा र जनशक्ति अभावका कारण सबै इच्छुक विद्यार्थीलाई भर्ना गर्न नसकिएको उनले बताए। त्यसैगरी मिथिला नगरपालिका–९ बडहरीस्थित सार्वजनिक माध्यमिक विद्यालयले शिशु कक्षादेखि कक्षा १२ सम्म अंग्रेजी माध्यमबाट पठनपाठन विस्तार गरेको छ । विद्यालयमा यस वर्ष करिब चार सय नयाँ विद्यार्थी भर्ना भएका विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रदीप महतोले जानकारी दिए ।
विद्यालयले आफ्नै बस सञ्चालनमा ल्याएको छ । बस खरिदका लागि शिक्षकहरूले एक महिनाको तलब सहयोग गरेका थिए भने बाँकी रकम विद्यालयको आन्तरिक स्रोतबाट व्यवस्थापन गरिएको बताइएको छ । यस्तै नकटाझिजस्थित जनता माध्यमिक विद्यालयले पनि शिशु कक्षादेखि कक्षा १० सम्म अंग्रेजी माध्यममा पठनपाठन सञ्चालन गर्दै आएको छ । हाल विद्यार्थीको नियमित उपस्थिति र सिकाइ उपलब्धिमा सुधार देखिएको प्रधानाध्यापक श्याम यादवले बताए ।
मिथिला नगरपालिकाको शिक्षा शाखाका अनुसार नगरभित्रका २८ सामुदायिक विद्यालयमध्ये २२ वटा विद्यालयमा नेपालीसँगै अंग्रेजी माध्यमबाट पढाइ भइरहेको छ । नगरपालिकाले दक्ष शिक्षक व्यवस्थापन, प्रविधिमैत्री कक्षा र बालमैत्री वातावरणमा जोड दिएको जनाएको छ । नगर प्रमुख महेन्द्र महतोले सामुदायिक विद्यालयलाई निजी विद्यालयसरह प्रतिस्पर्धी बनाउने उद्देश्यले अंग्रेजी माध्यम विस्तार गरिएको बताए। उनका अनुसार आवश्यक जनशक्ति, पूर्वाधार र प्रविधिको व्यवस्थापन गर्दै सबै विद्यालयमा क्रमशः अंग्रेजी माध्यम विस्तार गरिनेछ ।
स्थानीय अभिभावकहरूले सामुदायिक विद्यालयमा अंग्रेजी माध्यम र बस सेवाले विश्वास बढेको बताएका छन् । निजी विद्यालयबाट आफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमा सार्ने क्रम समेत बढ्न थालेको उनीहरूको भनाइ छ ।