राष्ट्रिय स्वतन्त्र पार्टीको बारा जिल्ला संगठन निर्माण विशेष समितिले जिल्लाभर सञ्चालन भइरहेका वडा, पालिका तथा निर्वाचन क्षेत्रस्तरीय सबै सांगठनिक गतिविधि अर्को निर्णय नभएसम्म स्थगित गर्ने निर्णय गरेको छ ।
समितिकी संयोजक कामिनी चौधरीद्वारा जारी सूचना अनुसार सदस्यता वितरण बाहेक अन्य सम्पूर्ण गतिविधि आजकै मितिदेखि रोकिएको जनाएको छ ।
समितिको जेठ १ गते बसेको बैठकले बारा जिल्लामा देखिएका संगठनात्मक समस्या समाधान तथा आवश्यक समन्वयका लागि विस्तारित बैठक आयोजना गर्ने निर्णय पनि गरेको छ । बैठकमा संघीय सांसद, केन्द्र, प्रदेश समिति तथा विभागका पदाधिकारी, विघटित जिल्ला समिति, निर्वाचन क्षेत्र समितिका सभापति, वडा तथा पालिका समितिका पदाधिकारीसहित सम्बन्धित प्रतिनिधिहरू लगायतलाई सहभागि गराउने जनाएको छ ।
उक्त विस्तारित बैठक यहिँ जेठ ९ गते शनिबार बिहान ११ बजे कलैयाकाे करण राज प्यालेसमा बस्ने तय गरिएको समितिले जनाएको छ ।
समितिले विस्तारित बैठक सम्पन्न भई आवश्यक निर्णय नभएसम्म अन्य कुनै पनि सांगठनिक गतिविधि सञ्चालन नगर्न सम्बन्धित सबैलाई आग्रह गरेको छ ।
