जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साको अगुवाइमा ‘विश्व सडक सुरक्षा सप्ताह २०२६’ अन्तर्गत आज वीरगंजमा जनचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ ।
सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यसहित वीरगंजको माईस्थान–घण्टाघर क्षेत्रमा कार्यक्रम आयोजना गरिएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख युवराज कटवालका अनुसार सवारी दुर्घटनाबाट हुने जनधनको क्षति घटाउन साइकलयात्री तथा रिक्सा चालकलाई लक्षित गर्दै सचेतनामूलक कार्यक्रम गरिएको हो ।
उनले भने, “सवारी दुर्घटनाबाट ज्यान गुमाउनेको संख्या बढिरहेको छ । त्यसैले यस्ता जनचेतनामूलक कार्यक्रममार्फत दुर्घटना न्यूनीकरण गर्ने प्रयास भइरहेको छ । हामीले विद्यालय–विद्यालयमा पुगेर पनि नियमित रूपमा ट्राफिक जनचेतना कार्यक्रम सञ्चालन गर्दै आएका छौँ ।”
कार्यक्रममा वडा प्रहरी कार्यालय विर्ता–श्रीपुर र वीरगंज युवा समाजको समेत समन्वय तथा सहभागिता रहेको थियो ।