उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगंजका न्यायाधीश गोकर्ण डाँगीले मिडिया र पत्रकारबिना मुलुकमा शान्ति स्थापना सम्भव नरहेको बताएका छन् ।
क्रियाशील युवा पत्रकार मञ्च नेपालद्वारा आयोजित दोस्रो साधारण सभालाई सम्बोधन गर्दै उनले मुलुकको विकास, सुशासन र शुद्धीकरणका लागि स्वतन्त्र मिडिया तथा जिम्मेवार पत्रकारिता अपरिहार्य रहेको बताए ।
न्यायाधीश डाँगीले देशमा जब–जब संकट र परिवर्तनको अवस्था आएको छ, त्यतिबेला पत्रकारहरू नागरिकको पक्षमा अग्रपंक्तिमा उभिएको उल्लेख गरे । उनले मुलुकको परिवर्तनमा पत्रकार र सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेको बताउँदै वर्तमान चुनौती र आगामी अवसरलाई आत्मसात गर्दै अघि बढ्नुपर्ने धारणा राखे ।
उनले संविधानले मौलिक हकको व्यवस्था गरेसँगै पत्रकारलाई खबरदारी गर्ने अधिकारसमेत सुनिश्चित गरेको उल्लेख गर्दै त्यसको सही प्रयोग गर्न आग्रह गरे ।
सामाजिक सञ्जालमा आएका सबै सामग्री समाचार नहुने भएकाले सत्य र तथ्य छुट्याउने क्षमता आजको आवश्यकता भएको उनले बताए । साथै, समयअनुसार सञ्चारमाध्यमको स्वरूप परिवर्तन हुँदै गएको उल्लेख गर्दै कानुनको पालना गर्दै जिम्मेवार पत्रकारिता गर्न सुझाव दिए ।
न्यायाधीश डाँगीले राज्य, जनता र सरकारलाई सचेत बनाउने ‘चौथो अंग’लाई सम्मान गर्न नसके देशको विकास सम्भव नहुने धारणा राखे । केही सञ्चारमाध्यमप्रति जनविश्वास कमजोर बन्दै गएको उल्लेख गर्दै उनले स्वतन्त्र, निष्पक्ष र जिम्मेवार पत्रकारितामार्फत सञ्चार क्षेत्रलाई सुदृढ बनाउनुपर्नेमा जोड दिए ।
उनले नागरिकले अपेक्षा गरेअनुसार शब्दको मर्यादा र पत्रकारिताको मूल्य–मान्यता कायम राख्दै अघि बढ्न पत्रकारहरूलाई आग्रह गरे ।