सडक आश्रित तथा सहयोगापेक्षी मानवको उद्धार अभियान अन्तर्गत मानव सेवा आश्रमको टोली शनिबार धनुषाको ढल्केबर पुगेको छ ।
मानव सेवा आश्रम र आनी छोइङ ड्रोल्मा फाउन्डेसनको सहकार्यमा सञ्चालित ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा २०८३’ अन्तर्गत अभियानको पाँचौँ दिन टोली ढल्केबर आइपुगेको हो । टोलीले सो क्षेत्रमा सडक आश्रित व्यक्तिहरूको खोजी तथा उद्धार कार्य गरेको छ ।
मानव सेवा आश्रमका केन्द्रीय महासचिव सुशीला केसीका अनुसार ढल्केबर क्षेत्रमा गरिएको खोजी अभियानका क्रममा एक जना सडक आश्रित व्यक्तिको उद्धार गरिएको छ ।
उनका अनुसार मधेश प्रदेशअन्तर्गत सप्तरी, सिराहा र धनुषामा हालसम्म ११ जनाको उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये चार जना महिला र सात जना पुरुष रहेका छन् ।
त्यस्तै, कोशी प्रदेशमा मात्रै ४८ जना सडक आश्रित मानवको उद्धार गरिएको छ, जसमा ३६ जना पुरुष र १२ जना महिला रहेका छन् ।
महासचिव केसीले सडकपेटी, सार्वजनिक स्थल तथा बजार क्षेत्रमा कष्टकर जीवन बिताइरहेका व्यक्तिहरूलाई उद्धार गरी आश्रममा संरक्षण, उपचार तथा पुनःस्थापनाको व्यवस्था गरिँदै आएको बताउनुभयो ।
उहाँका अनुसार सडकमा पीडा, बेवास्ता र असहायताबीच जीवन बिताइरहेका व्यक्तिहरूलाई संरक्षणमा ल्याई नयाँ जीवनतर्फ अग्रसर गराउने उद्देश्यले अभियान सञ्चालन गरिएको हो ।
वैशाख २७ गते काठमाडौंमा सुरु गरिएको उक्त अभियान जेठ २२ गतेसम्म सञ्चालन हुने जनाइएको छ । वर्षायाममा कसैले पनि सडकपेटीमा कष्टकर जीवन बिताउन नपरोस् भन्ने उद्देश्यले अभियान सञ्चालन गरिएको हो ।
झापाबाट औपचारिक रूपमा सुरु गरिएको यात्राको क्रममा मेची पुलमा दीप प्रज्वलन गरिएको थियो । अभियानमा २४ जना सहभागी रहेका छन् ।
मानव सेवा आश्रमले सडक आश्रित व्यक्ति देखिएमा नजिकको प्रहरी कार्यालय वा आश्रमलाई जानकारी गराई सहयोग गर्न सबैलाई आग्रह गरेको छ ।