मधेस प्रदेश सरकारको योजना रहेकाे शीत भण्डार विगत पाँच वर्षदेखि अलपत्र अवस्थामा रहेको छ ।
सप्तरीको राजविराज नगरपालिका–१५ मा निर्माणाधीन शीत भण्डारकाे निर्माण कार्य रोकिँदा संरचनामा खिया लागेर जीर्ण बन्दै गएको स्थानीयवासीले बताएका छन् । तीन हजार मेट्रिक टन क्षमताको उक्त शीत भण्डार ठेकेदार कम्पनीले काम अधुरो छोडेपछि लामो समयदेखि अलपत्र परेको हो । स्थानीय सरस्वती यादवका अनुसार निर्माण रोकिएको पाँच वर्ष बितिसक्दा पनि काम पुनः सुरु हुन सकेको छैन ।
तत्कालीन मधेस प्रदेश सरकारको योजना अनुसार आठवटै जिल्लामा एक–एक शीत भण्डार निर्माण गर्ने कार्यक्रमअन्तर्गत राजविराज–१५ मा एक बिघा जग्गामा यो आयोजना निर्माण सुरु गरिएको थियो । २०७४/७५ सालमा भएको टेन्डरअनुसार २५ करोड ४४ लाख ४३ हजार ९५९ रुपैयाँमा शर्मा आशिष जेभी प्रालिले ठेक्का पाएको थियो । २०७५ साल फागुन २ गते शिलान्यासपछि निर्माण कार्य सुरु भएपनि २०७७ जेठ १८ गतेसम्म सम्पन्न हुनुपर्ने योजना हालसम्म पूरा हुन सकेको छैन ।
निर्माण कम्पनीका प्रतिनिधि घनश्याम साहका अनुसार हालसम्म करिब ८ करोड रुपैयाँ बराबरको काम भए पनि पौने ४ करोड रुपैयाँ मात्र भुक्तानी भएको बताए । बाँकी रकम भुक्तानी भएमा मात्र काम अघि बढ्ने उनले प्रतिक्रिया दिएका छन् । राजविराज नगरपालिकाकी कार्यवाहक नगर प्रमुख इसरत परबिनले बजेट व्यवस्थापन र मन्त्रालयगत समन्वयको अभावका कारण आयोजना अधुरा रहेको देखिन्छ ।
शीत भण्डार नहुँदा स्थानीय किसानले उत्पादन भण्डारण गर्न समस्या भोग्दै आएको स्थानीयले बताएका छन् ।