जनकपुर उच्च अदालतले चालु आर्थिक वर्ष २०८२/८३ को वैशाख मसान्तसम्म तीन हजार १ सय १५ मुद्दा फर्छ्यौट गरेको छ ।
उच्च अदालतका शाखा अधिकृत गणेश पाण्डेका अनुसार अघिल्लो वर्षबाट सरी आएका दुई हजार २ सय ६७ र चालु वर्षमा नयाँ दर्ता भएका तीन हजार ३ सय ८४ गरी कुल पाँच हजार ६ सय ५१ मुद्दा अदालतमा रहेका थिए । तीमध्ये हालसम्म तीन हजार १ सय १५ मुद्दा फर्छ्यौट भएको र दुई हजार ५ सय ३६ मुद्दा अझै बाँकी रहेका छन् । अदालतका कायम मुकायम मुख्य न्यायाधीश टेकनारायण कुँवरले न्यायिक सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र नागरिकमैत्री बनाउने उद्देश्यसहित अदालतले कार्य गरिरहेको बताए । उनका अनुसार जिम्मेवारी सरी आएका मुद्दामध्ये एक हजार ७ सय २४ मुद्दा फर्छ्यौट भएको छ भने ५ सय ४३ मुद्दा विचाराधीन रहेका छन् ।
त्यसैगरी, चालु वर्षमा दर्ता भएका मुद्दामध्ये एक हजार ३ सय ९१ मुद्दा फर्छ्यौट हुँदा एक हजार ९ सय ९३ मुद्दा बाँकी रहेका छन् । अदालतको कुल मुद्दा फर्छ्यौट प्रतिशत ५५ दशमलव १२ रहेको जानकारी दिइएको छ । अदालतले लामो समयदेखि विचाराधीन मुद्दालाई प्राथमिकताका साथ टुङ्ग्याउने अभियान सञ्चालन गरिरहेको जनाएको छ । विवरणअनुसार एक वर्षदेखि १८ महिनाभित्रका ३ सय ७४, १८ महिनादेखि दुई वर्षभित्रका ७० तथा दुई वर्षभन्दा पुराना चार मुद्दा अझै विचाराधीन रहेका छन् ।
त्यसैगरी, २०८१ साल पुस मसान्तसम्म दर्ता भई बाँकी रहेका मुद्दाको संख्या १ सय २४ रहेको अदालतले जनाएको छ । कामु मुख्य न्यायाधीश कुँवरले न्यायपालिकाप्रति नागरिकको विश्वास कायम राख्न छिटो, निष्पक्ष र प्रभावकारी न्याय सम्पादन आवश्यक रहेको बताए । उनले न्यायमा नागरिकको पहुँच विस्तार गर्न सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहने धारणा पनि व्यक्त गरे ।
अदालतले चालु आर्थिक वर्षका लागि चार हजार ५ सय ४६ मुद्दा फर्छ्यौट गर्ने लक्ष्य निर्धारण गरेको जनाएको छ ।