तत्कालीन सुशीला कार्की नेतृत्वको सरकारले वीरगंज महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा सरुवा गरेका रेशमलाल कँडेललाई हाजिर गराउन नदिने विषयमा महानगरका मेयर राजेशमान सिंहले वडाध्यक्षहरूसँग छलफल गरेका छन् ।
सरकारले गत फागुनमै सहसचिव कँडेललाई वीरगंज महानगरको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा गरे पनि उनी अहिलेसम्म कार्यालयमा हाजिर हुन पाएका छैनन् । पर्साका प्रमुख जिल्ला अधिकारीको समन्वयमा कँडेल हाजिर हुन खोज्दा पनि मेयर सिंहले अवरोध गरेको महानगरका जनप्रतिनिधिहरूले बताएका छन् ।
मेयर सिंहले कँडेललाई हाजिर गराउनुको सट्टा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाउने तथा प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाउने निर्णयसमेत गरेको आरोप छ ।
यसैबीच, मेयर सिंहविरुद्ध लिखत किर्ते र नागरिकता सम्बन्धी चार वटा मुद्दा पर्सा जिल्ला अदालतमा दायर भएपछि उनी कानुनी र नैतिक दबाबमा परेका छन् । सोही पृष्ठभूमिमा उनले वडाध्यक्षहरूसँग छलफल गर्दै कँडेललाई हाजिर नगराउने विषयमा रणनीति बनाएको बताइएको छ ।
वीरगंज महानगरपालिका–४ का वडाध्यक्ष जगत साह कानुका अनुसार प्रमुख प्रशासकीय अधिकृत उपस्थित हुन नदिने विषयमा छलफल भएको छ । उनका अनुसार संघीय सरकारबाट सोमबारसम्म नयाँ प्रमुख प्रशासकीय अधिकृत नआए महानगरका जनप्रतिनिधिहरू मन्त्रालयमै पुगेर दबाब दिने तयारीमा छन् ।
यता वडा नं. ३१ का वडाध्यक्ष जितेन्द्रप्रसाद यादवले प्रशासकीय अधिकृत नहुँदा कर्मचारीको तलबसमेत व्यवस्थापन गर्न समस्या भइरहेको बताएका छन् । संघ सरकारले वैशाख ४ गते निमित्त प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्णको आर्थिक तथा प्रशासनिक अधिकारसमेत रद्द गरिसकेको छ । साभारः : सिधाकुरा