वीरगञ्जस्थित नारायणी अस्पतालबाट एकदिने नवजात शिशु चोरी भएको परिवारजनले बताएका छन् ।
अस्पतालको गाइनो वार्डमा बेड नम्बर ११ मा भर्ना रहेका सर्लाहीको रामनगर नगरपालिका–३ निवासी रञ्जय दास र रिंकु देवी दासका एकदिने छोरालाई चोरी गरिएको परिवारजनले बताएका छन् ।
परिवारका अनुसार सरसफाइ कर्मचारी बताउँदै आएकी एक महिलाले बच्चालाई खेलाउने बहानामा लिएर फरार भएकी हुन् । बच्चाका हजुरआमा साँझा देवीका अनुसार ती महिला अस्पताल परिसरमा सरसफाइ कर्मचारीकाे रूपमा काम गर्ने गरेकाे बताएकी थिइन तिनले बच्चा खेलाउँदै लगेकाे बताएकी छन् ।
साँझा देवीका अनुसार आफूले बच्चाको हेरचाह गरिरहेको अवस्थामा अस्पतालका सुरक्षा गार्डले गाइनो वार्डमा बस्न नदिएपछि आफू बाहिर पठाइदिएकाे बताए । त्यसपछि ती महिलाले बच्चालाई खेलाउने बहानामा लिएर फरार भएको उनको भनाइ छ ।
परिवारजनले बच्चा लिएर फरार भएकी महिलाले हरियो मास्क र रातो मेक्सी लगाएको बताएका छन् ।
घटनापछि परिवारजनले नवजात शिशुको खोजीका लागि प्रहरीलाई जानकारी गराएका छन् । प्रहरीले घटनाबारे अनुसन्धान तथा बच्चाको खोजी गरिरहेको जनाएकाे छ ।
परिवारले अस्पतालको सुरक्षा व्यवस्थामाथि समेत प्रश्न उठाउँदै नवजात शिशु अस्पतालबाटै चोरी हुनु गम्भीर विषय भएको बताएका छन् ।