भारतीय सशस्त्र सीमा बल (एसएसबी) को ४७ औँ वाहिनीले रक्सौल–वीरगंज मैत्री पुल क्षेत्रबाट अवैध रूपमा भारत प्रवेश गर्न खोजिरहेका एक चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।
नियमित जाँच अभियानका क्रममा शुक्रबार पक्राउ परेका ती विदेशी नागरिक बिना वैध भारतीय भिसा बिहार प्रवेश गर्न खोजिरहेको अवस्थामा फेला परेको भारतीय सुरक्षा निकायले जनाएको छ ।
प्रारम्भिक सोधपुछका क्रममा उनले आफू खेलौना व्यवसायसँग सम्बन्धित व्यापारी भएको बताएका थिए। उनीसँगबाट लडाकु विमान, स्पाइडर म्यान मुखौटालगायत विभिन्न प्रकारका खेलौनासमेत बरामद गरिएको सुरक्षा स्रोतले जनाएको छ । जानकारी अनुसार ती चिनियाँ नागरिक ११ मे २०२६ मा काठमाडौं हुँदै व्यापारिक प्रयोजनका लागि चितवन पुगेका थिए । त्यसपछि वीरगञ्ज हुँदै रक्सौल नाका प्रयोग गरी भारत प्रवेश गर्ने क्रममा उनी पक्राउ परेका हुन् ।
सुरक्षा स्रोतका अनुसार एसएसबीको ड्युटी परिवर्तन भइरहेको समयमा उनी सीमाक्षेत्रमा प्रवेश गरेका थिए । मैत्री पुल पार गरी भारतीय कस्टम क्षेत्रबाट रक्सौल सहरतर्फ जाँदै गर्दा उनलाई टाँगाबाट नियन्त्रणमा लिइएको बताइएको छ ।
ती व्यक्ति केवल चिनियाँ भाषामा मात्र बोल्ने भएकाले सोधपुछमा कठिनाइ भएको र शंकास्पद गतिविधि देखिएपछि नियन्त्रणमा लिइएको सुरक्षा अधिकारीहरूले बताएका छन् ।
पक्राउ पर्ने व्यक्तिको पहिचान ५७ वर्षीय याओ शुझाङका रूपमा भएको छ । उनका पिता या सो ची रहेको बताइएको छ । उनीसँगबाट चिनियाँ राहदानी नम्बर इजे ०१३८४०८ बरामद गरिएको भए पनि भारत प्रवेशका लागि आवश्यक वैध भिसा दस्तावेज फेला नपरेको सुरक्षा निकायले जनाएको छ । सीमा क्षेत्रमा खटिएका सुरक्षा निकायहरूले चिनियाँ नागरिकको भारत प्रवेशको वास्तविक उद्देश्य, सम्भावित सम्पर्क तथा गतिविधिबारे गम्भीर अनुसन्धान सुरु गरेका छन् ।
आवश्यक सोधपुछपछि कानुनी कारबाहीका लागि उनलाई सम्बन्धित प्रहरी कार्यालयमा बुझाउने प्रक्रिया अघि बढाइएको जनाइएको छ ।