जिल्ला प्रहरी कार्यालय रौतहटले आर्थिक वर्ष २०८२/८३ अन्तर्गत वैशाख महिनाको अपराध तथा सुरक्षा गतिविधिसम्बन्धी विवरण सार्वजनिक गरेको छ ।
प्रहरीका अनुसार एक महिनाको अवधिमा जिल्लाभर विभिन्न प्रकृतिका ९९ वटा अपराध दर्ता भएका छन् । प्रहरी तथ्याङ्कअनुसार सबैभन्दा बढी ४२ वटा सामाजिक अपराधका मुद्दा दर्ता भएका छन् । त्यस्तै सङ्गठित तथा आर्थिक अपराधका ११, चोरीसम्बन्धी ७, आत्महत्यासम्बन्धी ६, ज्यानसम्बन्धी ५, महिला तथा बालबालिकासम्बन्धी ४, सवारी ज्यानसम्बन्धी २ तथा अन्य १५ वटा मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ ।
गम्भीर अपराधअन्तर्गत कर्तव्यज्यान, हातहतियार तथा मानव बेचबिखनसम्बन्धी एक–एक वटा मुद्दा दर्ता भएका छन्। यस्तै बैंकिङ कसूर र ठगीसम्बन्धी पनि एक–एक वटा मुद्दा दर्ता भएको प्रहरीले उल्लेख गरेको छ । यसैबीच फरार प्रतिवादी पक्राउ अभियानलाई तीव्र बनाउँदै प्रहरीले वैशाख महिनामा ७७ जना फरार प्रतिवादी पक्राउ गरेको जनाएको छ ।
प्रहरीले अपराध नियन्त्रण तथा शान्ति–सुरक्षा सुदृढीकरणका लागि नियमित गस्ती, निगरानी र अनुसन्धानलाई थप प्रभावकारी बनाइने जनाएको छ ।