रौतहटको बौधीमाई नगरपालिका–८ सर्मुजवा क्षेत्रमा रहेको शङ्कर माध्यमिक विद्यालयमा कार्यरत शिक्षक रामबाबू यादव माथि भएको दुव्र्यवहार तथा कुटपिटको घटनाप्रति शिक्षकहरूले आपत्ति जनाएका छन् ।
उनीहरूले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय रौतहटमा ध्यानाकर्षण गराएका छन् । शिक्षकहरूले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा बौधीमाई नगरप्रमुख प्रदीपकुमार यादवसहित केही वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरूको संलग्नतामा शिक्षक यादवमाथि अमर्यादित व्यवहार र कुटपिट गरिएको आरोप लगाइएको छ ।
विज्ञप्तिमा नेपाल शिक्षक महासङ्घ, नेपाल राष्ट्रिय शिक्षक सङ्गठन, प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक सङ्गठन र एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन लगायतका संस्थाहरूले घटनाप्रति कडा आपत्ति जनाउँदै शिक्षकको सम्मान, सुरक्षा र पेशागत मर्यादा सुनिश्चित गर्नुपर्ने माग गरेका छन् । उनीहरूले नेपालको संविधानले शिक्षालाई तीन तहको साझा अधिकार क्षेत्रभित्र राखेको उल्लेख गर्दै शिक्षक व्यवस्थापन तथा परिचालन सम्बन्धित निकायको जिम्मेवारी रहेको स्मरण गराएका छन् ।
शिक्षक सङ्गठनहरूले घटनामा संलग्न व्यक्तिहरूलाई जेठ ७ गतेभित्र कानुनी दायरामा ल्याई कडा कारबाही गर्न समयसीमा दिएका छन् । तोकिएको समयभित्र माग सम्बोधन नभए र दोषीमाथि कारबाही नभए रौतहट जिल्लाभरका शिक्षकहरू चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनीसमेत दिएका छन् ।
उनीहरूले शिक्षकमाथि हुने कुनै पनि प्रकारको दुव्र्यवहारले शैक्षिक वातावरणमा नकारात्मक असर पार्ने भएकाले यस्ता घटनालाई गम्भीर रूपमा लिनुपर्ने बताएका छन् ।