जिल्ला प्रहरी कार्यालय पर्साले वैशाख महिनामा १ सय ४४ वटा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको जनाएको छ ।
प्रहरीले उपलब्ध गराएको तथ्याङ्कअनुसार दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी सामाजिक अपराधसम्बन्धी ३९ वटा रहेका छन् । त्यस्तै महिला तथा बालबालिका सम्बन्धी २६, चोरीका ९, आत्महत्याका ८, सङ्गठित तथा आर्थिक अपराधका ९, ज्यान सम्बन्धी २ र सवारी ज्यान सम्बन्धी २ वटा मुद्दा दर्ता भएका छन् ।
यस अवधिमा अन्य विभिन्न प्रकृतिका ४९ वटा अपराधका घटनासमेत दर्ता भएको प्रहरीको विवरणमा उल्लेख छ । आर्थिक अपराधतर्फ बैंकिङ कसूरका ३३, ठगीका ६ र जुवातासका ३ गरी कुल ४२ वटा मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार कर्तव्य ज्यान, हातहतियार तथा मानव बेचबिखनजस्ता गम्भीर प्रकृतिका अपराध नियन्त्रणका लागि समेत अनुसन्धान र निगरानीलाई तीव्र बनाएको छ । यसैबीच, अनुसन्धान र कानुनी कारबाहीको क्रममा फरार तथा चालु मुद्दाका प्रतिवादीहरूलाई पक्राउ गर्ने अभियान समेत प्रभावकारी बनाएको प्रहरीले जनाएको छ । सो क्रममा १ सय ६ जना प्रतिवादीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
सार्वजनिक चासोका रूपमा रहेका तथा लामो समयदेखि थन्किएका पेन्डिङ मुद्दाहरूको अनुसन्धानलाई पनि प्राथमिकताका साथ अघि बढाइएको प्रहरीले जनाएको छ ।