जिल्ला प्रहरी कार्यालय बारा अगाडि प्रदर्शन गर्ने तीन जना तेस्रोलिङ्गीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार महमद सरिफ मियाँ भाँडको जाहेरीले अभद्र व्यवहार मुद्दाको अनुसन्धानका क्रममा एक जना प्रतिवादी खुश्बु भन्ने अफजल मियाँ दर्जीलाई न्यायिक हिरासतमा राखिएको थियो । उक्त व्यक्तिलाई रिहा गर्नुपर्ने मागसहित आज बिहान प्रहरी कार्यालय अगाडि तेस्रोलिङ्गी समूहले सडक अवरुद्ध गर्दै नाङ्गो प्रदर्शन गरेको प्रहरीले जनाएको छ ।
बाराका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार प्रदर्शनकारीहरूले सडक अवरुद्ध गर्नुका साथै पैदलयात्री तथा सवारीसाधनको आवागमनमा समेत अवरोध पुर्याउँदै हो–हल्ला गरेका थिए । प्रहरी टोलीले सम्झाउने प्रयास गर्दा उल्टै प्रहरीमाथि गालीगलौज, अपशब्द प्रयोग तथा हातपातको प्रयास भएको उनले बताए ।
शान्ति सुरक्षामा खलल पुगेपछि प्रहरी वरिष्ठ नायब निरीक्षक विनोद राना मगरको कमाण्डमा खटिएको टोलीले तीन जनालाई नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएकामध्ये रौतहटको दावाही गोनाही गाउँपालिका–५ की २६ वर्षीया दिव्या रानी, बाराको जीतपुरसिमरा उपमहानगरपालिका–८ की २५ वर्षीया निशा भारती र ५७ वर्षीया निशा देवी रहेका छन् ।
उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।