सप्तरी जिल्लामा भएका अधिकांश सवारी दुर्घटना चालकको लापरबाहीका कारण भएको पाइएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (प्रनाउ) डम्बरबहादुर पुरीका अनुसार ट्राफिक नियम उल्लङ्घन, अत्यधिक गति तथा मादक पदार्थ सेवन गरी सवारी चलाउने कारण दुर्घटनामा वृद्धि भएको हो ।
उहाँले सार्वजनिक गरेको वैशाख महिनाको तथ्याङ्कअनुसार कुल ३८ सवारी दुर्घटनामध्ये ३५ वटा दुर्घटना चालककै कारण भएको पाइएको छ । बाँकी तीन वटा दुर्घटना यात्रुको कारण भएको उल्लेख गरिएको छ । सडक, मौसम, चौपाया तथा सवारी साधनको प्राविधिक अवस्थाका कारण भने कुनै दुर्घटना नभएको प्रहरी तथ्याङ्कमा देखिएको छ । यस अवधिमा भएका सवारी दुर्घटनामा परी आठ जनाको मृत्यु भएको र ७९ जना घाइते भएको प्रनाउ पुरीले जानकारी दिनुभयो ।
त्यसैगरी ट्राफिक नियम उल्लङ्घन गर्ने ४०५ वटा सवारी साधनलाई कारबाही गर्दा रु. ३ लाख ९८ हजार ५०० राजस्व सङ्कलन गरिएको प्रहरीले जनाएको छ । सवारी ज्यान मुद्दा अन्तर्गत आठ जनामाथि मुद्दा दर्ता गरी थप अनुसन्धान तथा कारबाही अघि बढाइएको छ ।
प्रनाउ पुरीका अनुसार पूर्व–पश्चिम राजमार्गको सडक विस्तार कार्य, ट्राफिक लेन अनुशासनको कमी, तीव्र गति, तथा लागुऔषध र मादक पदार्थ सेवन गरी सवारी चलाउने प्रवृत्ति दुर्घटनाका प्रमुख कारणका रूपमा देखिएका छन् ।