मधेश प्रदेशका सभामुख रामअशिष यादवले मधेश प्रदेशसभामा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको समावेशी समूह (मधेशी तर्फ) रिक्त रहेको प्रदेशसभा सदस्य पदमा महोत्तरीको गौशाला नगरपालिका–१२ की सरिता कुमारी ठाकुरलाई नियुक्त गर्नुभएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीको सिफारिसका आधारमा निर्वाचन आयोगबाट वैशाख ३० गते प्राप्त पत्रअनुसार ठाकुर निर्वाचित भएको पुष्टि भएपछि सभामुख यादवले उनलाई सोमबार नियुक्त गर्नुभएको प्रदेशसभा सचिवालयका प्रवक्ता विपिनकुमार ठाकुरले जानकारी दिनुभयो ।
प्रदेशसभा सदस्य ठाकुरलाई आज सभामुख यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभयो । प्रदेशसभा निर्वाचन ऐन, २०७४ को दफा ७५ (१) बमोजिम सभामुख यादवले उनलाई शपथ गराउनुभएको सचिवालयले जनाएको छ ।
यसअघि सो पार्टीकी प्रदेशसभा सदस्य कञ्चन बिच्छालाई पार्टी अनुशासन उल्लङ्घन गरेको आरोपमा पदबाट फिर्ता बोलाइएपछि उक्त पद रिक्त रहेको थियो ।
शपथ ग्रहण कार्यक्रममा सभामुख यादवले नवनियुक्त प्रदेशसभा सदस्य ठाकुरलाई बधाई दिँदै मधेशको विकास, सुशासन र जनताको हकहितमा उहाँले महत्वपूर्ण भूमिका निर्वाह गर्नेमा विश्वास व्यक्त गर्नुभयो ।