‘समृद्ध समाजका लागि युवा सशक्तीकरण’ संस्थाको आयोजना तथा कोल्हवी नगरपालिका–९ को सहयोगमा दुई दिने अपाङ्गता समावेशी खेल अभ्यास तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रम कोल्हवी नगरपालिका प्रमुख रामप्रसाद चौधरीको प्रमुख आतिथ्य तथा वडाध्यक्ष दलबहादुर चौधरीको सभापतित्वमा सम्पन्न भएको ह । कार्यक्रममा स्थानीय चार वटा विद्यालयका १६ जना विद्यार्थी तथा २० जना अपाङ्गता भएका व्यक्तिहरूको सहभागिता रहेको संस्थाकी कोषाध्यक्ष रूपशिला जयसवालले जानकारी दिइन् ।
सहभागी विद्यालयहरूमा नेपाल राष्ट्रिय आधारभूत विद्यालय मुसहर्वा, श्रीपुर, खग्दे पडरी र अरेम्बा बिर्ता रहेका थिए । कार्यक्रममा नगरप्रमुख चौधरीले अपाङ्गता भएका बालबालिका तथा व्यक्तिहरू समाजका महत्वपूर्ण सदस्य भएको उल्लेख गर्दै उनीहरूको व्यक्तित्व विकासका लागि शिक्षा, खेलकुद तथा सामाजिक सहभागितामार्फत सबैले साथ र सहयोग गर्नुपर्नेमा जोड दिए । उनले अपाङ्गता भएका व्यक्तिहरूको हकअधिकार संरक्षण र क्षमता विकासका लागि कोल्हवी नगरपालिका निरन्तर प्रतिबद्ध रहेको पनि बताए ।
कार्यक्रममा संस्थाका सचिव उदितकुमार साहले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने अध्यक्ष महेश साहले कार्यक्रमको सहजीकरण गरेका थिए ।
आयोजकका अनुसार कार्यक्रमले अपाङ्गता भएका व्यक्तिहरूको क्षमता अभिवृद्धि, आत्मविश्वास विकास तथा सामाजिक समावेशितालाई थप मजबुत बनाउन सहयोग पुग्ने विश्वास लिइएको छ ।