वीरगञ्ज महानगरपालिकाले आफ्ना सम्पूर्ण सेवा बन्द गर्ने तथा महानगरको साँचो संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई बुझाउने निर्णय गरेको छ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लामो समयदेखि नयाँ प्रमुख प्रशासकीय अधिकृत नपठाएको तथा हालका प्रमुख प्रशासकीय अधिकृतको आर्थिक र प्रशासनिक अधिकारसमेत खोसेको विरोधमा यस्तो निर्णय गरिएको महानगरपालिकाले जनाएको छ ।
सोमवार बसेको बोर्ड बैठकले अत्यावश्यक सेवाबाहेक महानगरका सम्पूर्ण सेवा बन्द गर्ने तथा कार्यालयको साँचो मन्त्रालयलाई बुझाउने निर्णय गरेको महागरले जनाएकाे छ । महानगरका अनुसार प्रमुख प्रशासकीय अधिकृतको विषयमा मन्त्रालयलाई पटक–पटक मौखिक तथा लिखित रूपमा जानकारी गराए पनि हालसम्म कुनै ठोस निर्णय नभएको र केवल आश्वासन मात्रै प्राप्त भएको छ ।
मेयर राजेशमान सिंहका अनुसार गत फागुन १२ गते निर्वाचन आचारसंहिता लागू रहेको अवस्थामा सरकारले रेशमलाल कँडेललाई वीरगंज महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटाएको बताए । तर कँडेल हालसम्म महानगरपालिकामा औपचारिक रूपमा हाजिर हुन नआएको उनको दाबी छ । तर प्रशासकिय अधिकृत कडेल भने, महानगरले हाजिर नगराएकाले जिल्ला प्रशासन कार्यालयमा हाजिर गरिरहेका छन् ।
महानगरपालिकाले मन्त्रालयलाई जानकारी गराएपछि मन्त्रालयले पहिलोपटक सात दिनभित्र र दोस्रोपटक तीन दिनभित्र हाजिर हुन निर्देशन दिएको भए पनि कँडेल उपस्थित नभएको नगरप्रमुख सिंहकाे दाबी छ ।
उनले विधिवत् रूपमा कार्यालयमा हाजिर नभएका कँडेलले सञ्चारमाध्यममार्फत नगरप्रमुखले आफूलाई हाजिर हुन नदिएको प्रचार गरेको दाबी गरेका छन् । जबकी मेयर सिंहकाे भनाइ सहित विभिन्न सञ्चारमाध्यममा वीरगंज जानेका, यहाँका हावापनी बुझेका अधिकृत चाहिनेआफै प्रतिक्रिया दिदैँ आएका छन् । महानगरले प्रशासकिय अधिकृत उपस्थित नगराएपछी संघिय मन्त्रालयले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णको आर्थिक तथा प्रशासनिक अधिकारमा रोक लगाइसकेकाे छ ।
महानगरपालिकाले आर्थिक तथा प्रशासनिक अधिकार रोकिएपछि योजना सञ्चालन, भुक्तानी प्रक्रिया तथा सेवा प्रवाह प्रभावित भएको छ । वडाध्यक्षहरूको संयुक्त बैठकले अन्तिम आर्थिक वर्ष भएकाले आफ्नाे अनुकुलकाे प्रशासकिय अधिकृत हुनुपर्ने भन्दै तालाबन्दीको निर्णय गरेका छन् । महानगरका जनप्रतिनिधिहरूले मन्त्रालयले तत्काल वैकल्पिक प्रमुख प्रशासकीय अधिकृत नपठाएसम्म आन्दोलनका कार्यक्रम जारी रहने चेतावनी दिएका छन् ।
नगरप्रमुख सिंहले जोकोही प्रमुख प्रशासकीय अधिकृत स्वीकार्य हुने तर पछिल्ला घटनाक्रमका कारण कँडेल भने स्वीकार्य नहुने स्पष्ट पारेका छन् ।