सप्तरीको राजविराज–छिन्नमस्ता सडक निर्माण सुरु भएको करिब चार वर्ष बित्न लाग्दा पनि काम सम्पन्न हुन सकेको छैन ।
नेपालका प्रमुख शक्तिपीठमध्ये एक छिन्नमस्ता भगवती मन्दिरसम्म पुग्ने उक्त सडक जीर्ण अवस्थामा रहेकाले भक्तजनदेखि स्थानीय सर्वसाधारणसम्म दैनिक सास्ती खेप्न बाध्य भएका छन् । सडक निर्माणमा ढिलाइ हुँदा वर्षायाममा हिलो र सुक्खायाममा धुलोका कारण स्थानीयवासी हैरान बनेका छन् । छिन्नमस्ता गाउँपालिकास्थित भगवती मन्दिर पुग्ने एक मात्र सडक जीर्ण भएपछि यात्रु र सवारी चालकलाई आवतजावतमा समस्या भइरहेको छ । सडकको खराब अवस्थाले सवारीसाधन सञ्चालनसमेत प्रभावित बनेको छ ।
राजविराजदेखि छिन्नमस्ता भगवती मन्दिरसम्म करिब १० किलोमिटर लम्बाइ रहेको उक्त सडक निर्माणका लागि साह निर्माण सेवाले २०७९ असार २३ गते भ्याटसहित २५ करोड रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो ।
छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरीले सम्झौता भएको चार वर्ष बित्न लाग्दा पनि सडक निर्माण पूरा हुन नसक्नु दुःखद भएको बताउनुभयो । उहाँले वर्षेनि ३० देखि ३५ लाखसम्म दर्शनार्थी आउने छिन्नमस्ता भगवती मन्दिर पुग्ने सडक छिटो निर्माण गरिदिन प्रधानमन्त्री, मन्त्री तथा सडक विभागसम्म पटक–पटक आग्रह गरे पनि सुनुवाइ नभएको गुनासो गर्नुभयो ।
यता निर्माण कम्पनी साह निर्माण सेवाका प्रोप्राइटर सञ्जीव साहले सडक निर्माण कार्य सुस्त गतिमा भइरहेको स्वीकार गर्नुभएको छ । उहाँका अनुसार निर्माणमा ढिलाइ हुनुमा निर्माण कम्पनी मात्र जिम्मेवार नरहेको दाबी छ । ठाउँ–ठाउँमा रहेका विद्युत्का पोल सार्न बाँकी रहनु, सम्पन्न कामको भुक्तानी सडक डिभिजन कार्यालय लहानले नदिनु तथा इन्धनको मूल्यवृद्धिले निर्माण कार्य प्रभावित भएको उहाँले बताउनुभयो ।
“सडक डिभिजन कार्यालय लहानले हालसम्म सम्पन्न कामबापत एक करोड रुपैयाँभन्दा बढी भुक्तानी दिएको छैन,” साहले गुनासो गर्नुभयो । दुई वर्षभित्र सम्पन्न गर्नुपर्ने उक्त आयोजनाको म्याद २०८२ चैतमै सकिइसकेको छ । तर, सडक डिभिजन कार्यालयले म्याद थप्न नमानेको जनाइएको छ । निर्माण कम्पनीका अनुसार हालसम्म नाला निर्माणको करिब ९० प्रतिशत काम सम्पन्न भइसकेको छ भने आठ किलोमिटर सडकमा ग्राभेल र दुई किलोमिटरमा बेस हाल्ने काम सम्पन्न भएको छ ।
साह निर्माण सेवाले सडक डिभिजन कार्यालयले म्याद थप र बाँकी भुक्तानी उपलब्ध गराए फागुन मसान्तसम्म निर्माण सम्पन्न गर्ने जनाएको छ ।