जनता समाजवादी पार्टी (नेपाल) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालबीच एकीकरणपछि गठन भएको जसपा नेपाल मधेश प्रदेश संसदीय दलको नेता चयनका लागि बुधबार निर्वाचन हुने भएको छ ।
एकीकरणपछि मधेश प्रदेशमा सबैभन्दा ठूलो दल बनेको जसपा नेपालभित्र संसदीय दलको नेता चयनमा सहमति जुट्न नसकेपछि निर्वाचन प्रक्रिया अगाडि बढाइएको हो ।
संसदीय दलको नेताका लागि पूर्वमुख्यमन्त्री सरोजकुमार यादव र पूर्वमुख्यमन्त्री लालबाबु राउतबीच प्रतिस्पर्धा हुने भएको छ । दुवै नेताले आफ्नो दाबीबाट पछि नहट्ने अडान कायम राखेपछि निर्वाचन अपरिहार्य बनेको पार्टी स्रोतले जनाएको छ ।
तत्कालीन जसपा नेपालका १८ र लोसपाका ८ गरी हाल जसपा नेपालसँग मधेश प्रदेशसभामा २६ जना सांसद रहेका छन् । निलम्बनमा रहेका २ जना सांसदसमेत जोड्दा दलको संख्या २८ पुगेको छ ।
संसदीय दलको नेता चयनलाई मधेश प्रदेश सरकारको नेतृत्वसँग पनि जोडेर हेरिएको छ । सरोजकुमार यादव निर्वाचित भएमा कृष्णप्रसाद यादव नेतृत्वको प्रदेश सरकारले निरन्तरता पाउने सम्भावना रहेको स्रोतको दाबी छ ।
मधेश प्रदेशसभामा जसपा नेपालपछि नेकपा एमालेका २४, नेपाली कांग्रेसका २२, नेकपा (माओवादी केन्द्र) का १४ तथा जनमत पार्टीका १२ जना सांसद रहेका छन् ।